सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ ।
जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ ।

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ ।
“तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ”, उहाँले भन्नुभयो, “यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जनाकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने देखिन्छ ।”

रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताउनुभयो ।
उहाँका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ । सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा सङ्कलित एक सय ७० नमूनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।

सो आर्थिक वर्षमा सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ सङ्कलन गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!