बैतडी: चन्दा संकलन गरेर बैतडीको दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित मसानी मन्दिरमा हवनकुण्ड निर्माण कार्य भइरहेको छ । स्थानीय आस्थावान व्यक्तिहरुबाट चन्दा संकलन गरेर हवनकुण्ड निर्माण कार्य भइरहेको हाे।
स्थानीयहरुको अगाध श्रद्धास्थलको रुपमा रहेको मसानी मन्दिरमा चन्दा संकलनबाट हवनकुण्ड निर्माण भइरहेको सूर्यपन्त,मसानी, तरैन्या धार्मिक संरक्षण सेवा समितिका अध्यक्ष कालुसिंह कार्कीले बताउभयाे।
उक्त हवनकुण्ड निर्माणमा ५ लाख बढी लागत लाग्ने अनुमान गरिएको र अहिलेसम्म दुई लाख १० हजार चन्दा संकलन भएको कार्कीले बताउनुभयाे।
हवनकुण्ड निर्माणका लागि देश–विदेशमा रहेका श्रद्धालु व्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरिएको अध्यक्ष कार्कीले बताउनुभयाे ।
यसअघि पनि उक्त मन्दिर क्षेत्रमा गेट निर्माण, बाटोघाटो निर्माण, खानेपानी र घेरपर्खाल निर्माण कार्य सम्पन्न गरिसकिएको छ ।
दोश्रो चरणमा सूर्यपन्त,मसानी, तरैन्या धार्मिक संरक्षण सेवा समितिले हवनकुण्ड निर्माणको काम गरिरहेको कार्कीको भनाइ छ ।
स्थानीय संस्कृति, परम्परा, धार्मिक सम्पदाहरुको संरक्षणका लागि समितिले काम गरिरहेको कार्कीले बताउनुभयाे
पञ्ज्युनयाँस्थित मसानी मन्दिरलाई उक्त क्षेत्रको शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने प्रचलन रही आएको छ ।
मसानी मन्दिरमा निर्माण भइरहेको हवनकुण्डका लागि सहयोग गर्नहुने महानुभावहरुले तलको खातामा रकम जमा गर्न सक्ने समितिले जनाएको छ ।
हवनकुण्डकाे काम ९० प्रतिशत सम्पन्न भइसकेको छ। निर्माणकाे काम सम्पन्न पश्चात् सार्वजनिक सुनुवाइ पनि गरिने जनाएको छ।

