बैतडी: बैतडीमा याेग साधनाप्रति आकर्षण बढ्दै गएको छ।
पतञ्जली याेग समितिले जिल्लाका विभिन्न स्थानमा याेग साधना केन्द्र सञ्चालनमा आएपछि याेग साधनाप्रति आकर्षण बढेको हाे।
योग अभ्यास र साधनाले शारीरिक मानसिक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्धवृद्धासम्म योगमा लाग्नुभएको छ ।
जिल्लाकाे दशरथचन्द नगरपालिका-२ देहिमाडाैंमा सञ्चालनमा रहेकाे निङ्गलाशैनी याेग साधना केन्द्रमा हाल दैनिक रूपमा ३५/३६ जना याेगाभ्यास गर्ने गरेका छन्।
गत साउन पहिलाे सातादेखि देहिमाडाैंमा केन्द्र सञ्चालनमा आएकाे निङ्गलाशैनी याेग साधना समितिका अध्यक्ष वीरसिंह बाेहराले जानकारी दिनुभयाे। नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय जिल्लामा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ ।
उहाँले भन्नुभयाे,”नि:शुल्क रूपमा याेग कक्षा सञ्चालनमा रहेको छ। दैनिक ३५/३६ जना सहभागी हुने गरेका छन्।
याेग कक्षा सञ्चालनका लागि निङ्गलाशैनी माविले भवन उपलब्ध गरेको र दशरथ नगरपालिका-२ काे वडा कार्यालयले व्यवस्थापन गरिरहेको छ ।
‘गराैं याेग,रहाैं निराेग’ भन्ने नाराका साथ याेग कक्षा सञ्चालनमा रहेकाे हाे ।
दैनिक दुई घण्टा बिहान ४:३० देखि ६:३० सम्म कक्षा सञ्चालन हुने गरेको छ।
कक्षामा याेगगुरू महेन्द्र बहादुर बमले व्यायाम,प्रणायाम ध्यान गराउने गर्नुभएको छ।
मानसिक र शारीरिक स्वास्थ्यका लागि याेग अनिवार्य रहेकाेले दैनिक रूपमा याेगकक्षामा सहभागी हुने गरेकाे दशरथचन्द नगरपालिका-२ का वडाध्यक्ष सुर्य बाेहराले बताउनुभयो ।
स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो ।
उहाँले भन्नुभयाे,”शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् । त्यसैले दैनिक याेग कक्षामा सहभागी हुने गरेको छु।”
योग कक्षा शुरु भएपछि याेगसाधकहरूकाे स्वास्थ्य, आहारव्यहार, बोली भाषामा समेत परिवर्तन आएकोयाेगगुरू महेन्द्र बहादुर बमले बताउनुभयो ।
उहाँले भन्नुभयाे,”सुरूमा याेगका बारेमा नबुझ्दा कक्षामा याेगसाधककाे संख्यामा कमी थियाे।अहिले याेगसाधककाे संख्या बढ्दै गएको छ। बाेली व्यवहारलगायतका कुरामा पनि परिवर्तन देखिएकाे छ।”
जीवनमा शान्ति आवश्यक भएको र जीवन चलाउने पद्धत्ति नै योग भएकाले नै सबैलाई योग आवश्यक भएको उहाँकाे भनाई छ।
पछिल्लो समय बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलतबाट बच्नको लागि पनि धेरै मानिसहरु योगमा लागेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयाे,”योगले आफ्नो जीवनलाई दैनिक कार्यलाई पेशा र व्यवसायलाई सहजीकरण गराउने, शरीरलाई स्वस्थ्य राख्ने। आफ्नो क्षमता अभिवृद्धि गर्ने काम गर्छ। त्यसैले याे निकै महत्त्वपूर्ण छ।”


