बैतडी: बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले एमबिबिएस डाक्टर पाएको छ । नगरपालिकाले नियुक्त गरेका डाक्टर पढ्न गएपछि डाक्टर विहिन बनेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले छ महिना पछि एमबिबिएस डाक्टर पाएको हो।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नविन कुमार साह आइपुगेका मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदिश प्रसाद भट्टले जानकारी दिनुभयो ।स्वास्थ्य केन्द्रको लागि नगरपालिकाले आह्वान गरेको विज्ञापनमा एमबिबिएस चिकित्सक छनौट गरेको उहाँले बताउनुभयो ।
मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा धेरै समस्या भईरहेकोमा अब मेडिकल अधिकृत आएकाले नागरिकहरुलाई उपचारका लागि सहज हुने अपेक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताउनुभयो ।प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर नविन कुमार साहले सेवा दिने बताइएको छ ।
डाक्टर साहले सेवा शुरू गरि सकेका छन । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएसँगै रोकिएका एक्सरे, इसिजी, अल्ट्रासाउंड,पोष्टमार्टम लगायतका सेवाहरु सञ्चालनमा आएका स्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताउनुभयो ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले डाक्टर पाए संगै अब मेलौली नगरपालिका मात्रै नभइ पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका नागरिकहरुले पनि एमबिबिएस डाक्टरबाट सेवा पाउने नगरपालिकाका प्रमुख भीम बहादुर चन्दले बताउनुभयो ।यसैबीच, डा।साहलाई आज कार्यालयमा एक कार्यक्रमका विच कर्मचारीहरुले स्वागत समेत गरेका छन् ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बैतडीको तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरका रुपमा रहेको छ ।
