घाेषणापत्र जारी गर्दै सकियो चर्मण्वती साहित्य सम्मेलन

बैतडी: बैतडीमा आयाेजना गरिएको चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको छ । राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रवद्र्धनमा डिलाशैनी –६ गोकुलेश्वरमा साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको हाे। 

दुई दिन सम्म सञ्चालन भएकाे सम्मेलनमा नेपाल तथा भारतका साहित्यानुरागी व्यक्तिहरुको सहभागिता रहेको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताउनुभयाे। 
स्थानीय कला, भाषा र संस्कृतिको संरक्षणका लागि सम्मेलनको आयोजना गरिएको सम्मेलनमा साहित्यका विविध बिषयमा छलफल र प्रस्तुती गरिनुका साथै चर्मण्वती सभ्यताको बारेमा पनि जानकारी गराइएको थियाे ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले गंगादशहराको दिनलाई चर्मण्वती दिवसको रुपमा मनाउने गरिएको र त्यसैको अवसरमा सम्मेलनको आयोजना गरिएको बताउनुभयाे । उहाँले भन्नुभयाे,” सम्मेलनमार्फत चर्मण्वती सभ्यताको बिषयमा सबैलाई जानकारी दिने र चौलानी तटका पालिकाहरुलाई चर्मण्वती सभ्यतामा जोड्न याेजनाका साथ आयाेजना गरिएको हाे,याे निकै उपलब्धिमूलक रहेकाे छ।”

सम्मेलनमा सहभागी भारतीय साहित्यकार डा. पिताम्बर अवस्थीले साहित्यका माध्यमबाट दुईदेशबीचको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेको बताउनुभएकाे छ। उहाँले भन्नुभयो,” सम्मेलनले
साहित्यका माध्यमबाट छिमेकी देशहरुको सम्बन्ध विस्तार र बलियाे हुनेछ,अगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ।”

साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीमा नेपाल तथा भारतका साहित्यकारहरुले आफ्ना प्रस्तुती राखेका थिए ।
सम्मेलनको समापन समारोहमा घोषणापत्र समेत जारी गरिएको छ । चर्मण्वती सभ्यताको विकास र विस्तारका लागि पहल गर्ने, निती कार्यक्रम बनाउने लगायतका कुराहरु घोषणापत्रमा उल्लेख गरिएको छ । 

चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयाे ।उहाँले भन्नुभयाे,” याे सम्मेलनले दुई देशका साहित्यकारकाे जमघट गराएकाे छ,यसले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ।”

सम्मेलनमा सीमावर्ती भारतका साहित्यकार डा.पिताम्बर अवस्थी,डा. अरुणप्रतापसिंह भदौरिया  गायिका भगवती दनुपुरिया, कथक नृत्यकार गुरु हेमन्त महाराज लगायतको सहभागिता थियो ।

यस्तै नेपालका तर्फबाट रमेश पन्त (मितबन्धु),जगदीश ओझा,गंगा बिष्ट,तीर्थराज पाण्डेय, कृष्णदत्त चटौत (कान्त),पूर्ण मल्ल, प्रजापति नेगी,लगायतको सहभागिता थियो । 
राष्ट्रियता संरक्षण अभियानले गत वर्ष पनि डिलाशैनीमा साहित्य सम्मेलनकाे आयाेजना गरेकाे थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!