बैतडी: बैतडीको सिगास गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकिम) का रूपमा शंकर बहादुर बोहराले कार्यभार सम्हाल्नु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर १७ गते बोहरालाई सिगास गाउँपालिकामा सरुवा गरेपछि उहाँ बुधबार औपचारिक रूपमा गाउँपालिकामा हाजिर हुनुभएको हो ।
यसअघि सिगास गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई मंसिर ८ गते जिल्ला समन्वय समिति (जिसस) बैतडीमा सरुवा गरिएको थियो । अवस्थी विगत दुई वर्षदेखि सिगास गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्दै आउनुभएको थियो ।
नयाँ हाकिमका रूपमा सरुवा भई आउनुभएका बोहरा हालसम्म गृह मन्त्रालय अन्तर्गत इलाका प्रशासन कार्यालय पुर्चौंडीमा शाखा अधिकृतको जिम्मेवारी बहन गर्दै आउनुभएको थियो । उहाँ जेठ २२ गते पुर्चौंडीमा हाजिर हुनुभएकामा हाल सिगास गाउँपालिकामा पदस्थापना हुनुभएको हो ।
उहाँको आगमनसँगै सिगास गाउँपालिकाको प्रशासनिक कार्यप्रणाली झनै चुस्त, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको स्थानीयवासीहरूले बताएका छन्।

