लाेकतन्त्र जाेगाउन संसद पुनःस्थापना हुनुपर्छ: पूर्व मन्त्री दामोदर भण्डारी
जेनजी आवरणमा देशलाई बर्बाद पार्ने तत्व हाबी
बैतडी: नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दामोदर भण्डारीले लाेकतन्त्र जाेगाउन संसद पुनःस्थापना हुनुपर्ने बताउनुभएको छ।
एमालेले बैतडी सदरमुकाममा आयोजना गरेको जागरण सभामा बोल्दै भण्डारीले संसद पुनःस्थापना गरेर संविधान संशोधन गरेर सर्वपक्षीय सरकारले निर्वाचन गर्नुपर्ने बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे,”संविधान बचाउन संसद पुनःस्थापना गरेर संविधान संशोधन गरेर सर्वपक्षीय सरकारले निर्वाचन गर्नुपर्छ।”
अहिलेको सरकारले निर्वाचनको वातावरण नै बनाउन नसकेको दाबी गर्दै एमाले कुनै पनि निर्वाचनबाट पछि नहट्ने बताउनुभयो ।
भदौ २३ र २४ मा भएको घटनाका बिषयमा पूर्व मन्त्री भण्डारीले देशलाई कसले, कसरी सत्यनाश गर्यो भन्ने कुरा जगजाहेर रहेको बताउनुभयाे ।
जेनजी आवरणमा देशलाई बर्बाद पार्ने तत्व हाबी भएको समेत आराेप लगाउनुभयाे।
जनताको मनमनमा एमाले रहेको बताउँदै भण्डारीले एमाले राष्ट्रवादी शक्ति भएको ठाेकुवा गर्नुभयाे ।
एमालेको नेतृत्व केपी ओलीले गर्ने बताउँदै उहाँले ओलीलाई एमालेको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाउने उद्दघोष गर्नुभयाे। बैतडी जिल्लाबाट एकमत भएर पार्टी ओलीको पक्षमा रहेको उहाँको दाबी छ।
