बैतडी: बैतडीका १० ओटा स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएको छ ।
स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रका कार्यक्रम सम्पादनमा पाटन नगरपालिका उत्कृष्ट भएको घोषणा गरिएको हो । यस्तै दशरथचन्द नगरपालिका दोश्रो र सुर्नया गाउँपालिका तेश्रो भएको छ ।
स्थानीय तहहरुले गत आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका कामहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयले तय गरेका सूचक, समन्वय र सहकार्य तथा स्वास्थ्य क्षेत्रमा नवीनतम् अभ्यास गरेका पालिकाहरुलाई उत्कृष्ट पालिकाको रुपमा छनौट गरिएको हो ।
पालिकाहरुले स्वास्थ्य कार्यक्रमको लक्ष्य प्राप्ति र सेवा उपयोग दर, समयमै सही तथ्यांक प्रविष्ट गरेको, अनुगमनको समयमा सुधारात्मक कार्यान्वयन देखिएको, नवीन पहल र सिर्जनात्मक अभ्यास गरेको, तालिममा सिकेका सीपहरुको प्रयोग गरेको लगायतका सूचकहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
उत्कृष्ट पालिकाहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ । यस्तै बार्षिक समीक्षा गोष्ठीमा अन्य बाँकी सातओटा पालिकाहरुलाई समेत सम्मान गरिएको छ ।
स्वास्थ्य कार्यालयले गरेको सम्मानले स्वास्थ्य क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।
यसैबीच यहाँका उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई पनि सम्मान गरिएको छ ।
जिल्लाका दशओटै पालिकाबाट एक/एक जना गरेर १० जना उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सिगास गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्र, कान्धारमा कार्यरत अनमी जानकीकुमारी पूजारा, शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव मोहनदत्त कलौनी, मेलौली नगरपालिकाको दुर्गास्थान स्वास्थ्यचौकीका सिनियर अहेब टंकप्रसाद बाग र दोगडाकेदार गाउँपालिकाको देउलेक स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव अधिकृत नन्दराज जोशी रहेका छन् ।
यस्तै पाटन नगरपालिकाको सिलंगा स्वास्थ्यचौकीमा कार्यरत अनमी सिर्जना नाथ, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य अधिकृत किशोरप्रकाश लुहार,पुर्चौंडी नगरपालिकाको तल्लादेही स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव रामसिंह साउँद, सुर्नया गाउँपालिकाको हटैराज स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव प्रकाश चन्द, डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी पुष्पाकुमारी बुढा र पञ्चेश्वर गाउँपालिकाको गिरेगडा स्वास्थ्यचौकीमा कार्यरत हेल्थ असिष्टेन्ट सुरेन्द्र भण्डारी पनि सम्मानित हुनुभएको छ ।
यस्तै स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कम्प्युटर अपरेटर घनश्याम भट्टलाई पनि सम्मानित गरिएको छ ।
स्वास्थ्यकर्मीहरुलाई आफ्नो कार्यक्षेत्रमा थप उर्जाका साथ काम गर्ने प्रेरणा र हौसला मिलोस भनेर सम्मान गरिएको हो ।
उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
