बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका –४ आमचोरास्थित प्रसिद्ध कैलपाल मन्दिरमा लाग्ने धुरा मेला भोलि सोमबारदेखि सुरु हुने भएको छ ।
यो मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा मेला लाग्ने स्थानीयहरुले बताएका छन् ।
सोमबार रतेडी र मंगलबार दिउसेडी मेला हुने धुरा मेला व्यवस्थापन समितिले जनाएको छ ।
कैलपाल धुरा मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका स्थानीय नारायणराम सार्कीले बताउनुभयो ।
जिल्लाका अन्य शक्तिपीठ तथा मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमा जात्रा लाग्ने गरेको भएपनि पञ्चेश्वरस्थित कैलपाल धुरा मन्दिरमा मंसिर कृष्ण पक्षमा जात्रा लाग्ने गरेको छ ।
कैलपाल धुरा मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित र सभ्य रुपमा सम्पन्न गर्नका लागि मेला लाग्ने क्षेत्रको चार किल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
पूर्वमा सैनी पिपल चौतारो, पश्चिममा मवाखाल बाटो, उत्तरमा सैनीदेखि मवाइखाल आउने बाटो र दक्षिणमा जवलपुर मावि सम्मको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
मदिरा निषेधित क्षेत्रमा कसैले मदिराको कारोबार गरेमा ५ हजार रुपैयाँ र मदिरा सेवन गरी होहल्ला गरेमा २ हजार पाँच सय रुपैयाँ जरीवाना तोकिएको पञ्चेश्वर गाउँपालिका वडा नं ४ को कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कसैले यस्तो कार्य दोश्रो पटक दोहर्याएमा दोब्बर जरीवाना गरिने बताइएको छ ।
उक्त मेला क्षेत्रभित्र जुवातास तथा अन्य आर्थिक प्रलोभनका खेलहरु निषेध गरिएको धुरा मेला व्यवस्थापन समितिले जनाएको छ ।
यसैबीच पञ्चेश्वर गाउँपालिकाले मेलाको अवसरमा सोमबार र मंगलबार स्थानीय बिदा दिएको छ ।
बिदाका दिनहरुमा पालिकाअन्र्तगतका सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था,शैक्षिक संस्था बन्द रहने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुयो ।

