बिडिसिए कप: त्रिपुराको शानदार सुरुवात, डिफेन्डिङ च्याम्पियन एनआरवाइसी स्तब्ध

रन्जित थापा उत्कृष्ट

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करण आजदेखि सुरु भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा त्रिपुरा क्रिकेट
क्लबले शानदार सुरुवात गरेको छ ।

त्रिपुराले नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)माथि १८६ रनको जित निकाल्यो ।

जितका लागि पाएको २६६ रनको लक्ष्य पछ्याएको एनआरवाइसी ११ दशमलब ४ ओभरमा ७९ रनमा अलआउट भयो । जसमा महेन्द्र मार्कण्डले १८ र सुदर्शन भट्टले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एनआरवाइसीको पारी ध्वस्त पार्ने क्रममा प्लेयर अफ द म्याच समेत भएका त्रिपुराका रन्जित सिंह थापाले ४ विकेट हात पारे ।

यस्तै सन्तोष चन्द र त्रिलोक महरले ३/३ विकेट झारे ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको त्रिपुरा ३३ दशमलब ५ ओभरमा २६५ रनमा समेटियो । उसका प्रकाश भट्टले ४२, अशोक थापाले ३९, जगदीश थापाले ३४, लोकेन्द्र थापा र पियुस थापाले ३१/३१ रनको योगदान गरे ।

एनआरवाइसीका राम चन्दले ३,शुषिल भाट र पवन पेलाले २/२ विकेट लिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछ ।

यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!