बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करणका लागि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसि)को टोली सार्वजनिक गरिएको छ ।
रिसिकेश बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको उक्त क्लबका अध्यक्ष वीरसिंह बोहराले बताउनुभयो ।
टिमको उपकप्तानमा विक्रम बोहरा, अन्य सदस्यहरुमा गजेन्द्र बोहरा,खडक बोहरा, दिपेश बोहरा,भूपेश बोहरा,समिर बोहरा,राजेन्द्र बोहरा,बसन्त बोहरा, आशिष बोहरा,विजय बोहरा, जय बहादुर नाथ,रोशन बोहरा र विष्णु धामी रहेका छन् ।
यस्तै योगेश भण्डारी,अजय बोहरा, दिपेश बोहरा र वर्षात बोहरा बैकल्पिक खेलाडीको रुपमा टिममा परेका क्लबका कोषाध्यक्ष तथा मुख्य छनौटकर्ता दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
टिम प्रशिक्षकमा रोशन बोहरा र व्यवस्थापकमा चेतन बोहरा रहेका क्लबका सचिव विनोद बहादुर बोहरा बताउनुभयो ।
जिल्लाकै पृुरानो क्लबका रुपमा रहेको यो क्लबले राष्ट्रियस्तर खेल्ने थुप्रै खेलाडी उत्पादन गरिसकेको छ ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा बिडिसिए कप यहि कात्तिक २१ देखि शुरु हुँदैछ ।
बिडिसिए कपका खेलहरु दशरथचन्द खेलमैदान,सुन्दरखालीमा हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
