प्रसिद्ध शिवनाथ धाममा जात्रा सुरुःभकुण्डो खेल्ने परम्परा

पालिकाद्वारा २ दिन बिदा

बैतडी: बैतडीको शिवनाथ गाउँपालिका–०६ शिवनाथ धुरामा रहेको शिवनाथ धाममा जात्रा सुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल सप्तमीबाट जात्रा शुरु भइ कार्तिक शुक्ल अष्टमीका दिन पूजाआजा सहित जात्रा समापन हुने गर्दछ ।

जसअनुसार आज राति र दिउँसो जात्रा लाग्ने मेला व्यवस्थापन समिति सचिव तपेन्द्रसिंह धनाडीले बताउनुभयो ।

शिवनाथ धाममा भगवना शिवको बासस्थान रहेको धार्मिक मान्यता अनुसार टाढा–टाढाबाट समेत भक्तजनहरु आउने गरेका छन् । नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत शिवनाथको जात्रामा आउने गरेका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताउनुभयो ।

मन्दिरमा शिवनाथ लगायत मेलौली,पञ्चेश्वर, पाटन, दशरथचन्दलगायतका क्षेत्रबाट समेत देउरा आउने गरेको जनाईएको छ।

शिवनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक विश्वाश रहेको छ।

शिवनाथको मेलामा भकुण्डो खेल्ने परम्परा रही आएको र यो नै जात्राको मुख्य आकर्षण रहने गर्दछ । धनाडी र साउँद थरका भक्तजनहरुले छालाबाट बनेको भकुण्डो खेल्ने परम्परा रही आएको छ ।
मेलामा शिवनाथ गाउपालीका–०५ कफाडीबाट पहरी र ठकुरीहरुको सामुहिक देउरोसँगै छालाबाट बनेको भकुण्डो (गिर) जाने गरेको शिवनाथ गाउँपालिका–०५ का वडाध्यक्ष केशव बहादुर चन्दले बताउनुभयो ।

पहिला पहिला गिरलाई दिउसेही मेलाको बिहान धनाड़ी र साउँद थर मुख्य रुपमा खेल्ने गरेको भएपनि हाल भने मेलामा सहभागीहरुले पनि खेल्ने गरेका छन।

मेलामा स्थानीय जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, तथा परिवारजनमा वर्ष दिन अथवा भेटघाट तथा दुख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देख पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

जात्रालाई भव्य रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । यस्तै मेलास्थलमा कसैले जुवातास खेलेको पाइएमा कारवाही हुने समेत जनाइएको छ ।

यसैबीच जात्राकै अवसरमा शिवनाथ गाउँपालिकाले आज र भोलि पालिकाभरी स्थानीय बिदा दिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!