सुदूरपहाडका शक्तिपीठ जात्राको रौनक

बैतडी: दशैँ र तिहारजस्ता ठूला पर्व सकिएसंगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जात्राको रौनक शुरु भएको छ । कार्तिक शुक्ल पक्षमा बैतडी,दार्चुला, डडेल्धुरा,डोटी,बझाङ लगायतका जिल्लामा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने गरेको गर्दछ ।

कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ दशैँको समयमा जात्रा लागेका मन्दिरहरुमा समेत कार्तिक शुक्ल पक्षमा समेत पूजाआजासहित जात्रा हुने गरेको छ । शरद ऋतु देवीदेवताहरुको पूजाउपासना गर्ने उत्तम ऋतुको रुपमा मानिन्छ । त्यसैले कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजन गर्ने चलन रही आएको छ ।”

कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमा सम्म जात्रा मनाउने चलन रही आएको दार्चुलाको लेकमका नरेन्द्र रावलले बताउनुभयो । उहाँले भन्नुभयो,“असोजको दुर्गा पक्षमा मात्र नभएर कार्तिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठहरुमा सामूहिक पूजाआजा गर्ने चलन रहेको छ । कार्तिक मास उत्तम भनेर शास्त्रमा समेत लेखिएकाले यो महिना देवीदेवता पूजनका लागि उत्तम रहेको मानिन्छ ।”

कार्तिक शुक्ल पक्ष शुरु भएसंगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्ग मध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, फाल्ङासैनी भगवती मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) मन्दिर, गणमेश्वर मन्दिर, जगन्नाथ मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै कफलाशैनी भगवती मन्दिर, जगन्नाथ मन्दिर, सिगास धुरा, सनशेर मन्दिर, सुरपाल मन्दिर, अनिरुद्र लगायतका मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गर्दछ ।

यस्तै दार्चुलामा रहेको राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । लटिनाथ मन्दिर बन्तोलीमा हिजो कार्तिक शुक्ल द्वितीयाको राति जात्रा लागिसकेको छ । यस्तै डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
डोटीमा रहेको बडिकेदार मन्दिरमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।

त्रिपुरासुन्दरी भगवती मन्दिर,रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ भने मेलौली भगवती, फाल्ङासैनी भगवती मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस्तै जगन्नाथ मन्दिर र गणमेश्वर मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ ।
यहाँ लाग्ने जात्रामा दर्शन गर्नका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने गर्दछन् ।

बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा दर्शन गर्नका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने गरेका स्थानीय नरेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो,“ कार्तिक शुक्ल सप्तमीदेखि शुरु भई कार्तिक शुक्ल अष्टमीका दिन लाग्ने मेलामा भारतको झुलाघाट,पिथौरागढ लगायत क्षेत्रबाट हजारौं दर्शनार्थी आउने गरेका छन् । भारतसंग हाम्रो रोटीबेटीको सम्बन्ध छ । हाम्रा सांस्कृतिक चाडपर्वहरुमा भारतीय दर्शनार्थी थुप्रै आउने गर्दछन् ।”

भारतीय नागरिकको नेपालका शक्तिपीठहरु प्रति ठूलो विश्वास छ । प्रत्येक बर्ष हजारौंको लगानि गरेर दर्शनार्थीहरु नेपालका बैतडी,डडेल्धुरा, दार्चुला जिल्लामा पुग्ने गरेको भारतीय पत्रकार प्रमोद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ बिशेष गरेर त्रिपुरासुन्दरी भगवती मन्दिरमा दर्शनका लागि हामी पुस्तौदेखि आउने गरेका छौं । यो बर्ष पनि हजारौंले दर्शनको तयारी गरेका छन् । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा हामी भगवती मातालाई भाकल अनुसारका चीजवस्तुहरु अर्पण गर्ने गर्दछौं ।”

जात्राकै लागि भनेर कैलाली कञ्चनपुरमा बसाईसरेकाहरु पनि आउने गरेका छन्।

देवीदेवताका मन्दिरमा लाग्ने सामूहिक जात्राले सामाजिक,आत्मीयता र भातृत्वको भावना बढाउने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!