पन्ज्युनयाँ  क्रिकेट लिग: उपाधिकाे लागि लेकम र बस्काेट भिड्ने,फाइनल खेल भाेलि हुने

बैतडी: बैतडीको दाेगडाकेदारमा जारी पन्ज्युनयाँ  क्रिकेट लिग–४ काे उपाधिका लागि देवभूमी लेकम क्रिकेट टिम र चाैलानी सभ्य समाज बस्काेट भिड्ने भएका छन्।

आज सम्पन्न पहिलाे सेमिफाइनलमा लेकमले आयाेजक सुशितम युवा क्लबलाई ७ विकेटले हराउदै फाइनलमा स्थान सुरक्षित गर्याे।

जितका लागि पाएकाे ८१ रनकाे सामान्य लक्ष्य लेकमले १२.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे ।

जसमा साजन बिटालुले अविजित ४० रनकाे याेगदान गरे।
सुशितमका कप्तान अशाेक कार्की, तिलक विष्ट र जनक लुहारले १/१ विकेट लिए।

यसअघि पन्ज्यनयाँ क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे शुसितम १८ ओभरमा ७९ रनमा राेकियाे।

उसका गणेश बिटालुले सर्वाधिक २७ तथा कप्तान अशाेक कार्कीले १४ रन हिर्काए।

लेकमका साजन बिटालुले ३ विकेट हात पारे । उनी प्लेयर अफ द म्याच चुनिए ।

यस्तै आजै सम्पन्न दाेस्राे सेमिफाइनलमा टिम डिलाशैनीलाई ६ विकेटले स्तब्ध पार्दै चाैलानी सभ्य समाज बस्काेट उपाधिनजिक पुगेको छ।

४५ रनकाे झिनाे लक्ष्य बस्काेटले १२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे। जसमा चन्द्रदेव विष्टले १४ रन जाेडे।

डिलाशैनीका भाेजराज भट्ट र सन्दीप खत्रीले २/२ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेकाे डिलाशैनी ४४ रन जाेड्दा अलआउट भयाे।

उसका गाेकुल नाथले १२ रन जाेड्नुबाहेक अन्यले दाेहाेराे अंक समेत जाेड्न सकेनन् ।

बस्काेटका चन्द्रदेव विष्टले ४ र पञ्कज पन्तले ३ विकेट पाए।
यसैबीच फाइनल भिडन्त भाेली बिहान १०:३० बजे हुनेछ।

फाइनल समाराेहमा दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीलगायतका जनप्रतिनिधि र कर्मचारीहरूकाे उपस्थिति रहनेछ।
१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!