बैतडी: बैतडीको दाेगडाकेदारमा जारी पन्ज्युनयाँ क्रिकेट लिग–४ मा लगातार दाेस्राे जित निकाल्दै आयाेजक सुशितम युवा क्लब क्वाटरफाइनल प्रवेश गरेकाे छ।
क्वाटरफाइनल प्रवेश गर्ने क्रममा सुशितमले सेटिगाउँमाथि ८ विकेटको जित निकाल्याे।
जितका लागि पाएकाे ४७ रनकाे लक्ष्य शुसितमले ५.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा धिरेन्द्र कार्कीले अविजित १९ रनकाे याेगदान गरे ।
सेटिगाउँका माेहन बाेहरा र राेशन बाेहराले १/१ विकेट लिए।
यसअघि पन्ज्युनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेकाे सेटिगाउँ ९.२ ओभरमा ४६ रनमा समेटियाे।
उसका रूपेश बाेहराले १२ र राेशन बाेहराले ११ रन जाेडे।
शुसितमका धिरेन्द्र कार्कीले ४ र सन्दीप कार्कीले ३ विकेट हात पारे।
धिरेन्द्र खेलका प्लेयर अफ द म्याच समेत चुनिए।
१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।
गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो।
प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
