बैतडी: वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा कैलाली फाइनलमा पुगेको छ।
कैलाली लगातार तेस्रो जित दर्ता गर्दै समूह बी काे शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हाे।
आज सम्पन्न लिग चरणको अन्तिम खेलमा कैलालीले कञ्चनपुरलाई ४ विकेटले हराउदै उपाधि नजिक पुगेको हाे।
जितका लागि पाएकाे १४५ रनकाे लक्ष्य कैलालीले ४१.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्याे।
जसमा सुदीप साउदले अर्धशतक हिर्काए। म्यान अफ द म्याच समेत भएका सुदीपले ५७ रन बनाए।
कञ्चनपुरका अभिषेक थापाले २ विकेट लिए।
यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेकाे कञ्चनपुर ४२ ओभरमा १४४ रनमा अलआउट भयाे । जसमा आर्यन टमटाले ३२ रन बनाउनुबाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
कैलालीका ओमप्रकाश घिमिरेले ३ विकेट झारे।
हारसंगै कञ्चनपुर प्रतियोगिताबाटै बाहिरिएको छ।
कैलालीले उपाधि भिडन्त बैतडीसंग खेल्नेछ।
समूह ए मा रहेकाे बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर यसअघि नै फाइनलमा पुगिसकेकाे छ ।
फाइनल खेल असार १ गते हुनेछ। फाइनल खेल तथा समापन समाराेहमा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का आउने कार्यक्रम रहेको छ।
जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेका थिए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीका अनुसार प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिनेछ।
