बैतडी: बैतडीको दुर्गम सिगास गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध भएको छ ।
काठमाडौं महानगरपालिकाले बैतडीको सिगास गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
महानगरको एम्बुलेन्स नभएका दुर्गम पालिकालाई एम्बुलेन्स प्रदान गर्ने नीति अनुुसार एम्बुलेन्स प्राप्त भएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताउनुभयो ।
सिगासहित देशभरका ३५ ओटा दुर्गम पालिकालाई महानगरले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
सिगास गाउँपालिकाले महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त गरेको र शिवलिङ्ग स्वास्थ्यचौकीमार्फत सञ्चालन गरिने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।
एम्बुलेन्स नहुँदा समस्या रहेकोमा अव सहज हुनेछ । उहाँले भन्नुभयो,“ यसअघि सिगास गाउँपालिकामा एम्बुलेन्स नहुँदा समस्या रहेकोमा अब त्यो समस्या समाधान हुनेछ। शिवलिङ्ग स्वास्थ्यचौकीमार्फत एम्बुलेन्स सञ्चालन गरिने र आवश्यकता अनुसार सबै वडामा सेवा दिनेछ।”
सिगास गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेसँगै आकस्मिक बिरामीहरुका लागि सहज हुने भएको छ । गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगिसकेको छ । समस्यामा परेका बिरामीहरुका लागि एम्बुलेन्स उपलब्ध गराइने जनाएको छ ।
यस्तै गाउँपालिकाले पनि गाँजरी स्वास्थ्यचौकीमार्फत सञ्चालन गर्न चालु आर्थिक बर्षभित्रै एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको छ ।

