बैतडी: पहिरोका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग ११ घण्टामा खुलेको छ । राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ सलसेनास्थित साजाधारमा बिहान सवा ९ बजे पहिरो खसेको थियो ।
अवरुद्ध राजमार्ग राति ८ बजेपछि सुचारु भएको स्थानीय समेत रहेका गाडी चालक शेरसिंह कार्कीले जानकारी दिनुभयो । सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि राजमार्ग सुचारु हुन ढिला भएको हो ।
दुई जेसिबीको प्रयोग गरेर राजमार्ग सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ सडक माथिबाट ठुलो पहिरो खसेको थियो, पहिरो पन्छाउन सुरु गरेको पहिलो जेसिबीमा माथिबाट ढुंगा खसेपछि सामान्य क्षति भएपछि काम रोकियो । फेरी बेलुका अर्को जेसिबीको व्यवस्थापन गरेर दुबै जेसिबीले पहिरो पन्छाएपछि राति राजमार्ग खुलाउन सफल भयौं ।”
राजमार्ग खुलेसंगै सवारी आवागमन सुचारु भएको छ । योसंगै अलपत्र परेका यात्रुहरु आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।
यता पहिरोसंगै सडकमा खसेको ठुलो ढुंगाका कारण सिल्लेगाडा–कालागाउँ –पुर्चौडी सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको बडियास्थित डाडाँइजर भन्ने ठाउँमा आज बेलुका पहिरो खसेको रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ ठुलो ढंगासहित खसेको पहिरोले यातायात सेवा पूर्ण रुपमा बन्द छ । पैदल हिड्न समेत जोखिम बढेको छ ।”
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
