वर्षाले बैतडीको जनजीवन प्रभावितः एक पसलमा क्षति,आठ घर जोखिममा

बैतडी: लगातारको वर्षाका कारण बैतडीका विभिन्न स्थानमा क्षति पुगेको छ ।
जिल्लाको पाटन नगरपालिका ४ भट्टागाउँका धर्मानन्द भट्टको २ तले २ कोठे पसल वर्षाका कारण भत्किएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
पसल भत्किदा भित्र रहेको खाद्यान्न र किराना सामान गरी एकलाख बराबरको क्षति भएको छ ।

जिल्लाको पुचौंडी नगरपालिका ०३ खालीका कर्ण बहादुर धामीको ३ तले ६ कोठे घर र संगै रहेको २ तले ४ कोठे दुई घर वर्षाकै कारण भत्किन शुरु भएको छ ।
जमिन भासिन गई घरको दुई तर्फको पर्खाल चर्किन गई उच्च जोखिममा रहेकोले ६ जनाको परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै मेलौली न.पा. वडा नं. ३ कुचगाडका राम सिंह भाट र करण दत्त बागको घर जोखिममा परेको छ । रामसिंहको घरछेमै बाधिराखेको खसी पहिरोले पुरेको छ । दुबैजनाको घरमा क्षति पुगेपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ बुढीबाँसका विरसिंह विष्ट र मान सिंह विष्टको घर जोखिममा परेका हुन् । लगातारको वर्षाले घरको आगन भासिएर घर भत्किने अवस्थामा पुगेका छन् ।

पहिरोकै कारण दोगडाकेदार गाउँपालिका ३ इडाकोटका विरभानसिंह भाट र नारायणसिंह भाटको घर समेत जोखिममा परेका छन् । दुबैजना आफन्तको घरमा बसिरहेका छन्

आज बिहान साढे ८ बजे दशरथचन्द नगरपालिका १० आधारपिण्डमा पहिरो खसेर अवरुद्ध भएको गोठालापानी–झुलाघाट सडक जेसिबीले पहिरो हटाएपछि दिउँसोदेखि सुचारु भएको छ ।

यता दशरथचन्द नगरपालिका २ सुगरखालीनजिक पहिरो खस्दा भदौ १४ गतेदेखि देहिमाडौं–गिरेगडा सडक बन्द रहेको छ ।

वर्षाकै कारण पाटन नगरपालिका ६ ओदाली बस्ने गणेश बहादुर चन्दको घर भत्किएको र मानवीय क्षती भने नभएको जनाएको छ ।

पुचौंडी नगरपालिका ०४ बिडगैराका करबिर भट्टको २ तले ४ कोठे घरको आँगन देखि जमिन भासिन गई घर जोखीममा रहेको र ६ जनाको परीवारलाई सुरक्षित स्थान सारिएको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो ।
लक्ष्मीपुर आधारभूत विद्यालय पचकोराको विद्यालयको पर्खाल भत्किदा भवन जोखिममा परेको छ ।

चारदिनदेखिको वर्षाका कारण यहाँको जनजीवन प्रभावित समेत बनेको छ ।

वर्षाका कारण विपद्को जोखिम बढेकाले रातीको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको र जिल्लास्थित सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!