देहिमाडौं-गिरेगडा सडकमा पहिराेसंगै ठुलाे ढुंगा,पन्छाउनै सकस
जेसिबीले काम गरेन,स्काभेटर पठाइदै
बैतडी: वर्षासंगै खसेको पहिरोको कारण बैतडीको देहिमाडौं– गिरेगडा सडक अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको दशरथचन्द नगरपालिका २ सुन्दरखाली नजिक अस्ति राति सडक माथिबाट पहिरोसंगै ठुलाे ढुंगा खस्दा सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भएपनि ढुंगाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाटनको जेसिबीले प्रयास गरेपनि पहिराेसंगै खसेकाे ठुलाे ढुंगाले गर्दा समस्या भएकाे प्रवक्ता पाण्डेयले बताउनुभयो ।
उहाँले भन्नुभयाे,”हिजाे रातिसम्म जेसिबीले पहिराे पन्छाउन प्रयास गरेपनि ठुलो ढुंगाका कारण सम्भव हुन सकेन।”
आज स्काभेटरकाे सहायताले ढुंगा हटाइने र सडक सुचारू गरिने उहाँले बताउनुभयाे।
सडकमा खसेकाे ढुंगा साइड लगाएपछि मात्रै यातायात सुचारु हुन र त्यसका लागि केही समय लाग्ने प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ ।
सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्रुहरुलाई समस्या भएको छ।
बैतडीसहित सुदूरपश्चिममा आज गाैरा पर्व मनाइदैछ।
