सुदूरपश्चिमका छ स्थानमा नयाँ इलाका प्रशासन थपिने

प्रभावकारी र नागरिकमैत्री सेवा बनाउन गृह मन्त्रालयको ऐतिहासिक कदम

बैतडी: बैतडीको मैलौलीसहित सुदूरपश्चिम प्रदेशका थप छ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएका छन् ।

गृह मन्त्रालयले सुदूरपश्चिमका छ सहित देशभर २३ वटा इलाका प्रशासन कार्यालय थप गर्न प्रस्ताव गरेको गृहमन्त्री रमेश लेखकका प्रेस संयोजक शेरबहादुर सिंह जानकारी दिनुभयो ।

नयाँ थप हुने इलाका प्रशासनमा बैतडीको मेलौली,दार्चुलाको गोकुलेश्वर,बझाङको देउरा,डोटीको विपीनगर,अछामको साँफेबगर र बाजुराको कोल्टी रहेका छन् ।

दुर्गम क्षेत्रमा प्रशासनिक सेवा पुर्याउन गृह मन्त्रालयले इलाका प्रशासन थप गर्ने तयारीलाई स्थानीय जनप्रतिनिधिकरुले पनि स्वागत गरेका छन् ।

बैतडीको मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा विष्टले इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि खुसी व्यक्त गर्दै गृह प्रशासनलाई धन्यवाद दिनुभएको छ ।

उहाँले भन्नुभयो,“ हामी गृह प्रशासनलाई धन्यवाद दिन तयार भएका छौं । अब हामीले अहिलेसम्म भोगेका दुःखहरुको अन्त्य हुने आशा गरेका छौं। छिट्टै मेलौलीमा इलाका प्रशासन गठनभइ कार्यान्वयन हुनेछ । ”

सेवा प्रवाह विस्तारलाई जोड दिइदैं गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा सुदूरपश्चिमका छ सहित देशभर २३ वटा इलाका प्रशासन कार्यालय थप गर्न गरेको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले मन्त्रिपरिषद्बाट पठाइएको प्रस्तावमा आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउने गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले बताउनुभयो ।

गृहमन्त्री रमेश लेखकले जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुका साथै सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न आवश्यक भएकोले मुलुकभर २३ वटा इलाका प्रशासन कार्यालय थपका लागि मन्त्रालयका नेतृत्वमा आउनासाथ पहल थाल्नु भएको थियो ।

प्रशासनिक सेवा गाउँगाउँमा पु¥याउने अभियान प्राथमिकतामा रहेकोले इलाका थप गरिएको मन्त्रालयले जनाएको छ ।

प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र लिन तथा अन्य कामकाजका लाागि धेरै समय खर्चेर जिल्ला प्रशासन पुग्नुपर्ने बाध्यताले सेवाग्राही नागरिकहरुले हैरानी व्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गरी सेवा प्रवाह विस्तार गर्ने उद्देश्यसहित उक्त कार्य अघि बढाइएको हो ।

मन्त्री लेखकले आन्तरिक स्रोत व्यवस्थापन गरेर तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थपमा जोड दिएका हुन ।

गृह मन्त्रालय तथा मातहतका निकायहरुको संगठन संरचना र दरवन्दी हेरफेर गर्न र नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक भएकोले गृह मन्त्रालयले गत पुसमा सचिवस्तरको निर्णय गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेश गर्न गृह मन्त्रालय, प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको थियो ।

गृह प्रशासनको सेवा स्थानीय तहमा प्रभावकारी र नागरिकमैत्री बनाउन गृह मन्त्रालयको यो कदम ऐतिहासिक मानिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!