बैतडीमा नयाँ उद्योग दर्ता घट्दो,बन्द हुने क्रम बढ्यो

बैतडी: बैतडीमा उद्योग दर्ताको क्रम वर्षेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गएको ३ वर्षको तथ्यांक हेर्दा यहाँ उद्योग दर्ताको क्रम वर्षेनी घट्दै गएको देखिएको हो ।

गएको ३ वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगहरुमा साना र मझौला उद्योग दर्ता भएका छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् ।
दर्ता भएका उद्योगहरुमा कृषि, वन, आटामिल, मसला, अचारलगायतका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा यहाँ चार सय २७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउँदले बताउनुभयो ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा उक्त संख्याबाट घटेर एकसय ९१ उद्योग मात्रै दर्ता भएको देखिएको छ ।
यस्तै गत आर्थिक वर्ष २०८१÷८२ मा पनि अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता क्रम घटेको छ ।
गत आवमा यहाँ एकसय ३५ मात्रै उद्योग दर्ता भएका देखिएका छन् ।
यस्तै गएको ३ वर्षमा यहाँ वाणिज्यतर्फ तीनसय ९९ सय फर्महरु दर्ता भएका छन् । वाणिज्यतर्फ आर्थिक वर्ष २०७९÷८० मा एकसय ६३, आव २०८०÷८१ मा एकसय ७३ र गत आर्थिक वर्ष २०८१÷८२ मा ६३ फर्म दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगहरु नवीकरण पनि हुने गरेका छन् ।
दर्ता भएका उद्योगहरु पाँच वर्षमा नवीकरण गर्नुपर्ने सूचना अधिकारी साउँदले बताउनुभयो ।
आर्थिक वर्ष २०७९÷८० मा दुईसय ५१, आव २०८०÷८१ मा दुईसय चार र गत आर्थिक वर्ष २०८१÷८२ मा तीनसय ९३ उद्योग नवीकरण भएका उहाँले बताउनुभयो ।

यस्तै ३ वर्षको अवधिमा वाणिज्यतर्फका एक हजार एकसय २२ व्यवशाय नवीकरण भएका छन् । यसैबीच जिल्लामा उद्योग र व्यवशाय दर्ता खारेज पनि बढ्दो क्रममा रहेको छ ।

गएको ३ वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवशाय खारेज भएका छन् ।
युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनु पर्नेलगायतका कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने संख्या घटेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले बताउनुभयो ।
सरकारी सेवा सुविधा र अनुदानका लागि मात्रै पनि उद्योगहरु दर्ता हुने गरेका र पछि अनुदान र सुविधा नपाउँदा खारेज गर्ने गरेका उहाँले बताउनुभयो ।

यसैगरी गएको तीन वर्षको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायतका शीर्षकबाट ७७ लाख छ हजार सात सय ७८ रुपैंया राजश्व संकलन भएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!