बैतडी: झाडापखालाका कारण बैतडीमा एक बालिकाको ज्यान गएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी १३ बर्षीया आरती रोकायाको झाडापखालाका कारण ज्यान गएको हो ।
स्थानीय महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीका अनुसार तीन दिनदेखि झाडापखाला लागेकी रोकायाको सोमबार बिहान घरमै ज्यान गएको हो ।
झाडापखाला लागेकी रोकायालाई उपचारका लागि स्वास्थ्य संस्था नलैजाँदा ज्यान गएको बुझिएको छ । उनलाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुक गरेको बताइएको छ ।
स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले भने झाडापखालाका कारण बालिकाको मृत्यु भएको बारे पुष्टि हुन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ। झाडापखालाका कारणले हो वा अन्य कुनै रोगका कारण मृत्यु भएको पुष्टि हुन बाँकी छ । ”
सोही घरमा थप दुईजना बालबालिकामा झाडापखाला देखिएको छ। झाडापखाला देखिएपछि उक्त क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।
