बैतडी: बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम स्थानीय तहबाट भइरहेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौडीबाट भइरहेको विवरण संकलनको काम हाल स्थानीय तहहरुमा भइरहेको हो ।
दर्ता शिविर सञ्चालन गरेर पालिकाहरुबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो ।
हाल जिल्लाको डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा विवरण संकलनको काम भइरहेको छ । दुर्गमका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सदरमुकाम आउन झन्झट हुने भएकोले पालिकामै टोली पठाएको प्रजिअ पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ सामाजिक सुरक्षा भत्ता बुझ्न,बैंक खाता खोल्न लगायतका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य भनेको छ। त्यसका लागि धेरैको परिचयपत्र नहँुदा समस्या देखिएको गुनासो आएपछि स्थानीय तहहरुमा नै टोली पठाएर विवरण संकलनको काम गरिरहेका हौं ।”
मेलौलीको दर्ता शिविर नगरपालिकामै र डिलाशैनीको वडा नं ६ को कार्यालय डडियामा शिविर सञ्चालन भइरहेको छ ।
गाउँपालिको आग्रह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा दर्ता शिविर शुरु गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि नागरिकहरुको मार्कालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको प्रवक्ता भट्टले बताउनुभयो ।
साउन मसान्तसम्म वडा नं ६ मा शिविर सञ्चालन हुने र डिलाशैनी गाउँपालिकाका पायक पर्ने स्थानका नागरिकलाई शिविर आएर परिचयपत्र बनाउन आग्रह गरिएको छ ।
आवश्यकता अनुसार साउन मसान्तपछि अन्य वडाहरुमा पनि शिविर सञ्चालन गरिने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले जानकारी दिनुभयो ।
मेलौलीको भदौ १ गतेसम्म नगरपालिका कार्यालयमा भदौ २ र ३ गते सलेनामा शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले बताउनुभयो ।
यसअघि दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकामा शिविर सञ्चालन गरिएको थियो ।
दोगडाकेदार र पाटनमा सञ्चालन भएको शिविरबाट करिब एक हजार पाँचसय नागरिकको विवरण संकलन भएको प्रजिअ पौडेलले बताउनुभयो ।
जिल्लाको सिगास,पञ्चेश्वर,सुर्नया र पञ्चेश्वर गाउँपालिकामा पनि निकट भविष्यमै दर्ता शिविर सञ्चालन हुनेछ ।
पुर्चौंडी नगरपालिकामा इलाका प्रशासन कार्यालय हाटबाट राष्ट्रिय परिचय पत्र वितरणको काम भइरहेको छ भने दशरथचन्द नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्र वितरणको काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
