द्वन्द्वकालदेखि जीर्ण दोगडाकेदारका वडा कार्यालयहरु नयाँ निर्माण

नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहजता

बैतडी: सशस्त्र द्वन्द्वकालदेखि जीर्ण अवस्थामा रहेका बैतडीको दोगडाकेदार गाउँपालिकाका वडा कार्यालय भवनहरु नयाँ निर्माण गरिएका छन् । गाउँपालिकाका छ ओटा वडा कार्यालयका भवनहरु नयाँ निर्माण गरिएका हुन् ।

वडा कार्यालयहरु दुई करोड ४८ लाखमा निर्माण गरिएका दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार वडा नम्वर २ को कार्यालय ३० लाख, ३ नम्बर वडा कार्यालय ४० लाख, ४ नम्बर वडा कार्यालय ४५ लाख, ५ नम्बर वडा कार्यालय ३५ लाख, ६ नम्बर वडा कार्यालय ५० लाख र ७ नम्बर वडा कार्यालय ४८ लाखमा निर्माण भएको हो । वडा नम्बर १ र वडा नम्बर ८ को कार्यालय पनि नयाँ निर्माण गरिने जनाएको छ ।

उहाँले भन्नुभयो,“वडा कार्यालयहरु जीर्ण भएपछि नयाँ निर्माण गरेका हौं । बाँकी रहेका वडाहरु यो वर्ष निर्माण गर्ने योजना बनाएका छौं । ”

यस्तै गाउँपालिका भवन पनि आफ्नै रहेको छ । गाउँपालिका भवन एक करोड ३० लाखमा निर्माण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

वडा कार्यालय र पालिका भवन आफ्नै हुँदा सेवा प्रवाहमा सहजता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले बताउनुभयो ।

नयाँ कार्यालय बनेपछि कर्मचारीलाई सेवा प्रवाह गर्न सजिलोका साथै कार्यालय व्यवस्थित भएका छन् । उहाँले भन्नुभयो,“ पालिका भवन र वडाका भवनहरु सेवाग्राहीमैत्री बनेका छन् ।
जसले गर्दा सेवा प्रवाह गर्न निकै सहजता प्रदान गरेको छ । साथसाथै गाउँपालिकाले भाडा तिरेर पर्नजाने आर्थिक भार पनि कम भएको छ ।”

वडा कार्यालयहरु नयाँ बनेपछि ईन्टरनेटको सुविधा पनि बिस्तार गरिएको छ ।

ईन्टरनेट सुविधा हुँदा पञ्जीकरण,सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका कामहरु सहजै रुपमा वडा कार्यालयबाट भइरहेका दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ का वडासचिव शान्ति साँउदले बताउनुभयो ।
उहाँले भन्नुभयो,“नयाँ वडा कार्यालय बनेपछि सेवा प्रवाह छिटो,छरितो गर्न सहज भएको छ । ईन्टरनेट जडान भएपछि नागरिकताको प्रमाणपत्र बनाउने सिफारिस,पञ्जीकरणलगायतका काम गर्न मद्दत पुगेको छ ।”

वडा कार्यालय बनेपछि सेवा प्रवाहमा सहजता भएपनि ईन्टरनेट नचल्दा समस्या हुने गरेको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विष्णुदत्त भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,“कार्यालय भवन बन्दा सेवा प्रवाहका लागि सहज भएपनि ईन्टरनेट नचल्दा निकै समस्या हुने गरेको छ । अनलाइनबाट गरिने कामहरु प्रभावित भएका छन् ।”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!