अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने नेपाली टोली: मल्ल ईन,आदिल अटाएनन्

काठमाडौं अस्ट्रेलियाको डार्विनमा आउँदो अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघले सार्वजनिक गरेको यसपटकको टोलीमा कुशल मल्लको पुनरागमन भएको छ । उनी यसअघि स्टकल्याण्ड टूरका लागि टोलीमा अटाएका थिएनन् । टप एण्डको प्रदर्शनबाट उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेगरी नै टोलीमा पुन: स्थान बनाउने अवसर हुनेछ ।

घोषित १६ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम र ललित नारायण राजवंशी रहेका छन्।

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने खेलहरूको तालिका पनि सार्वजनिक भइसकेको छ। नेपालसहित ११ टोली सहभागी यस सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ। दोस्रो खेल १६ अगस्टमा बंगलादेश ‘ए’ विरुद्ध हुनेछ। तेस्रो खेल नेपालले १८ अगस्टमा मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स विरुद्ध हुनेछ भने पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स विरुद्ध हुनेछ। अन्तिम लिग खेल नेपालले २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ।

लिग चरणपछि शीर्ष ४ टोलीबीच सेमिफाइनल खेलिनेछ र त्यसपछि फाइनल हुने जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!