बैतडी: भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ ।
एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार भोलि साउन २० गते बिहान ६ बजेदेखि साउन २१ गते बिहान ६ बजेसम्म बाँध खोलिने भएको होे ।
पावरस्टेशनको सिल्ट सफाईको लागि बाँध खोलिन लागिएको जनाएको छ ।
बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनुभयो ।
महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ ।
यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन भनिएको छ।
धौलीगंगा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । यसअघि गत असार २७ गतेपनि सिल्ट सरसफाइकै लागि बाँध खोलिएको थियो ।
दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।
विसं २०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौंको क्षति भएको थियो ।
