यू-१९ सुदूरपश्चिम छनाैट: युवराज चम्किदा अछाम विजयी,बझाङ स्तब्ध

बैतडी: वाई वाई यू १९  एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा समूह बी का खेलहरू आजदेखि शुरु भएका छन्।
उक्त समूहकाे पहिलो खेलमा आज अछामले बझाङलाई ९८ रनले हरायो ।

जितका लागि पाएकाे १६४ रनकाे लक्ष्य पछ्याएकाे बझाङ २३.१ ओभरमा ६५ रनमा समेटियाे।
उसका पारस राेकायाले २४ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

अछामका लागि युवराज खत्री एक्लैले ६ विकेट चट्काए। म्यान अफ द म्याच समेत भएका युवराजले ४.१ ओभर बलिङ गर्दै २ मेडन राखेर २ रन मात्रै खर्चिएर ६ विकेट हात पारेका हुन्।

त्यसअघि परशुराम नगरपालिका १२ स्थित  जाेगबुढा रंग मैदानमा  पहिला ब्याटिङ गरेकाे अछामले ३८.३ ओभरमा १६३ रनमा सबै विकेट गुमायाे।
जसमा आषिश लुहारले ४३, युवराज खत्रीले ३७,रविन भण्डारीले ३४ रनकाे याेगदान गरे।
बझाङका अशाेक धामी,पारस राेकाया र राेशन खत्रीले समान २/२ विकेट लिए।

प्रतियोगिता अन्तरगत भाेलि कैलाली र अछाम भिड्ने स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयो ।

समूह बी बाट शिर्ष स्थानमा पुग्ने टाेली फाइनलमा बैतडीसंग भिड्नेछ।

समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेकाे  छ ।

जेठ २० गतेदेखि शुरु  प्रतियोगितामा  क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे । 
सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे।

दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो। 

प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!