कफलकोटवासीलाई फोन गर्न डाँडा चढ्नुपर्ने बाध्यता

टेलिकम भन्छः भदौपछि डाँडा चढ्नुपर्दैन

विनोद सिंह विष्ट-बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका २ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडेको छ । दुई वर्ष अगाडी सञ्चालन भएको यो टावरले गएको डेढ वर्षयता काम गर्न छोडेको हो ।

टावरले काम गर्न छोडेपछि यहाँका स्थानीय बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन् । मोबाईलमा नेटवर्क नआउने र इन्टरनेट सेवाबाट समेत यहाँका बासिन्दा टाढा भएका छन् ।
टावर स्थापना भएपछि खुसी भएका यहाँका स्थानीय हाल भने निरास छन् । टावर सञ्चालन भएको छ महिनासम्म इन्टरनेट र मोबाईल सेवा राम्रै काम गरेपनि डेढ वर्षदेखि समस्या भएको हो ।

यहाँ रहेका करिब साढे ३ सय घरधुरी रहेको छ । फोन गर्न र इन्टरनेट सेवाकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य रहेका स्थानीय कृष्ण भाटले बताउनुभयो ।
उहाँले भन्नुभयो,“फोनको लाइन नआउँदा डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता छ । कुनै आकस्मिक कामको लागि कतै फोन गर्नुपरेमा निकै समस्या हुने गरेको छ । ”

तल्लागाउँ,पातली,सिराड,बसाड,सल्याडलगायतका बासिन्दा फोन गर्नकै लागि डाँडा चढ्ने गरेका छन् ।

फोन र इन्टरनेट सुविधा पाउन समेत गाह्रो रहेको स्थानीय प्रताप महराले बताउनुभयो ।
उहाँले भन्नुभयो,“गाउँघरमा फोनको लाइन आउदैन। माथि डाँडा गएर फोन गर्नुपर्छ,समस्या समाधानका लागि टेलिकम सुन्दैन्।”

फोन र इन्टरनेट सुविधा नहुँदा कफलकोटमै रहेको रौलेश्वर माविलाई पनि कामकाजमा समस्या हुने गरेको छ ।

sadak

विद्यालयका प्रधानाध्यापक नरेन्द्र भाटले अनलाइनबाट गरिने कुनै पनि काम गर्न समस्या रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“अनलाइन सम्बन्धि काम गर्न निकै समस्या रहेको छ । कागजपत्र झोलामा बाकेर सिल्लेगडा,खोचलेक बजार धाउनुपर्ने बाध्यता छ। आकस्मिक फोन गर्नुपरेमा माथि डाँडा उक्लिनुपर्छ ।”

टावरले काम गर्न छोडेको विषयमा नेपाल टेलिकम बैतडीलाई पटक पटक आग्रह गर्दा समेत कुनै सुनुवाई नभएको यहाँका स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको गुनासो रहेको छ ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर २ को कार्यालयले टावरले काम गर्न छोडेको र समस्या समाधानका लागि पटकपटक लिखित रुपमा समेत टेलिकमलाई आग्रह गरेको भएपनि हालसम्म पनि समस्या समाधान भएको छैन् ।

टावरमा रहेको समस्याका बारेमा लिखित र मौखिक रुपमा टेलिकम कार्यालयलाई जानकारी गराएपनि समस्या हल नभएको वडा नम्बर २ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताउनुभयो ।
फोन गर्नकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य भएका छन् । उहाँले भन्नुभयो,“टावरमा समस्या रहेकोबारे पटक पटक लिखित रुपमा पनि आग्रह गरेका छौं, तर हालसम्म पनि कुनै सुनुवाई भएको छैन्।”

यता नेपाल टेलिकम बैतडीका प्रमुख नारायण भट्टले धुरा टावरमा टू जी सुविधा नरहेकोले नेटवर्कमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो,“ धुरा टावर फोरजी मात्रै सञ्चालनमा छ । टू जी नहुँदा फोनमा समस्या भएको हो ।”

टू जी थप्ने काम केही दिनमै हुने र नेटवर्कको समस्या समाधान हुने उहाँको दाबी रहेको छ । उहाँले भन्नुभयो,“ धुरा टावरमा टूजी थप्ने तयारीमा छौं । भदौै महिनाभित्र टूजी थप्छौं। भदौपछि फोन गर्नकै लागि डाँडा चढ्नुपर्ने बाध्यता रहदैन होला।”

यसका साथै धुरा टावरमा विद्युतको सिंगल फेज लाइनमात्रै रहेकाले पनि समस्या आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ सिंगल फेज लाइनमात्रै रहेकाले बिजुली गएको बेला नेटवर्कमा पनि समस्या देखिन जाने गरेको हो ।”

प्रमुख भट्टले धुरा टावर अपग्रेड गर्ने तयारी रहेको समेत बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!