सुदूरपश्चिमका १३ क्याम्पस आंगिक बनाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

बैतडी:बैतडीका दुईसहित सुदूरपश्चिमका १३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गरिएको छ । 

बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस हाट र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, दार्चुलाको शंकरपुर बहुमुखी क्याम्पस पस्तीसहित सुदूरपश्चिमका १३ ओटा क्याम्पसलाई आंगिक बनाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियुका निर्वतमान उपाध्यक्ष गोविन्द गिरीले बताउनुभयाे।

पत्रमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १३ वटा क्याम्पसलाई ०८२÷०८३ मा सुदूरपश्चिम विश्वविद्यालयको आंगिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको छ ।

‘सत्यसित नलड्ने र शक्तिसित नझुक्ने’ समाज निर्माणमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।

एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कञ्चनपुरको भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी र कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी,  अछामको अछाम बहुमुखी क्याम्पस, डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस कैलालीको लम्की बहुमुखी क्याम्पस र घोडाघोडी बहुमुखी क्याम्पसलाई आंगिक बनाउन भनिएको छ ।

यस्तै बझाङको बझाङदीप बहुमुखी क्याम्पस र सुनकुडा बहुमुखी क्याम्पस, डडेल्धुराको  भिमदत्त बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न माग गरिएको छ ।

सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेको क्षेत्र भएकाले शिक्षामा गरिएको लगानीले बसाइसराइ नियन्त्रण, स्थानीय रोजगारीको सृजना र उत्पादनमुखी अर्थतन्त्रतर्फको यात्रा सहज बनाउने गिरिले बताए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै आत्मनिर्भर राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । सोही अनुसार क्याम्पस समायोजनको प्रक्रिया पनि तत्काल अगाडि बढाउन ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!