भारतकाे धौलीगंगा बाँध खाेलियाे,सतर्कता अपनाउन आग्रह

बैतडी: भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध  खोलिएको छ ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गएराति १२ बजेदेखि बाँध खोलिएको हो ।

बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेलले बताउनुभयो ।

महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ ।

बाँध शनिबार दिउँसो १२ बजेसम्मका लागि खोलिने भए पनि शनिबार रातिसम्म पनि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरिएको छ ।

यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन भनिएको छ।

परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

धौलीगंगा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।

विसं २०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौंको क्षति भएको थियो ।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!