बैतडी: यहाँको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किरा देखिएकाे छ।
फाैजी किराले मकै सखाप पार्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्।
दाेगडाकेदार र शिवनाथ गाउँपालिकामा फाैजी किराले मकैबाली नष्ट गर्न थालेकाे कृषि ज्ञानकेन्द्र बैतडीका प्रमुख हरिदत्त जाेशीले जानकारी दिनुभयो ।
किराले मकैको बोट सखाप पार्ने गरेको दाेगडाकेदार गाउँपालिका ७ का दीपेन्द्र कार्कीले बताउनुभयाे।
उहाँले भन्नुभयाे,”फाैजी किराले मकैबाली सखाप पारेकाे छ। उत्पादनमै कमी हुने देखिन्छ ।”
लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो ।
दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दाेगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयाे,” फाैजी किरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ ।”
मकैको पकेट क्षेत्रमै किराले नोक्सान गरेको छ ।
पाँच वर्षयता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको छ ।
मकै बालीमा किराको प्रकोप देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।
केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ ।
हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव रहेकाे बताएको छ।
बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको छ ।
