बैतडी: बैतडीमा इण्डो–नेपाल अन्तर्राष्ट्रिय मेला २०८२ को तयारी भएको छ ।
मेला यही जेठ २२ गतेदेखी २६ गतेसम्म जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौं खेलमैदानमा सञ्चालन हुने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी तथा मेला व्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र विष्टले बताउनुभयो ।
दशरथचन्द नगरपालिका बैतडीको आयोजना, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग तथा ग्वाल्लेक मिडिया ग्रुप प्रालिको व्यवस्थापनमा मेला सञ्चालनको तयारी भएको हो ।
मेलाको उद्घाटन उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नुहुने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमै भारतको उत्तराखण्ड विधानसभा सदस्य बिसनसिंह चुफालको पनि विषेश उपस्थिती रहने जनाएको छ ।
मेलामा नेपाल तथा भारतका कलाकारहरुले प्रस्तुति रहनुका साथै नेपाल र भारतका व्यापारिक स्टल रहने मेलाका व्यवस्थापक हेमबाबु लेखकले बताउनुभयो ।
यसका साथै स्थानीय उत्पादनलाई पनि जोड दिदै भारतबाट पनि विभिन्न व्यापारिक स्टल रहन्छन् ।
उहाँले भन्नुभयो,“सुदूरपश्चिम प्रदेशभित्रका कलाकार र भारतको उत्तराखण्डका कलाकारले प्रस्तुति दिनेछन् । मेलामा दुबै देशका व्यापारिक स्टलहरु पनि रहनेछन् । ”
प्रवेश नि:शुल्क राखिएको मेलामा स्थानीय बैतडीमा कला,संस्कृति भेषभुषा र व्यापारलाई विषेश स्थान दिइने दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताउनुभयो ।
उहाँले भन्नुभयो,“स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन र नेपाली उत्पादन तथा सेवाहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न मेलाको आयोजना गरेका हौं । यसका साथै बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुका बीच व्यवसायिक सम्बन्ध कायम गर्ने पनि हाम्रो उद्देश्य रहेको छ ।”
इण्डो–नेपाल अन्तर्राष्ट्रिय मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
