विश्वकप लिग टु: नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं  : विश्वकप लिग टु अन्तरगत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ।

नेपाल र स्कटल्याण्डको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ।

एक साता अघि स्कटल्याण्ड पुगेको नेपाली राष्ट्रिय टोलीको असली परीक्षा  अब सुरु हुन लागेको हो।

नेपाली राष्ट्रिय टोली ७ महिनाको लामो विश्रामपछि फेरि एकदिवसीय मैदानमा फर्किंन लागेको हो।  गत कार्तिकमा अमेरिका पुगेको नेपालले डालसको ग्राण्ड पेरी मैदानमा चार खेलको सिरिज खेलेको थियो।

त्यहाँ अमेरिका र स्कटल्याण्डसँग खेल्दा एउटा  खेल जितेको थियो भने एउटामा अंक बाँडेको थियो। नेपाली टोली दुई खेल हारेर स्वदेश फर्किएको थियो।

त्यसयता एकदिवसीयमा नेपालले कुनै खेल खेलेको छैन। लिग टु को अंक तालिका हेर्ने हो भने, नेपालको अवस्था राम्रो छैन। १२ खेलमा २ जितका साथ ६ अंकसहित नेपाल तालिकाको पुछारमा छ।
 स्कटल्याण्डले भने १६ खेलमा २० अंक जोड्दै चौथो स्थानमा छ। नेदरल्याण्ड्स २० खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

सिरिजमा नेपालसहित स्कटल्याण्ड डिफेन्डिङ च्याम्पियन र नेदरल्याण्ड्स सुपर लिगबाट आएको बलियो टोली छ। नेपालले बुधबार नेदरल्याण्डसँग खेल्नेछ। यस्तै नेपालले स्कटल्याण्डसँग आगामी आइतबार खेल्दा आगामी मंगलबार नेदरल्याण्डसँग खेल्ने तालिका रहेको छ।

त्यसअघि नेपालले बेलायत भ्रमणको क्रममा ५ अभ्यास खेल खेलेको थियो जसमा सबैमा जित निकाल्दै उत्साहजनक प्रदर्शन गर्यो।  तर, स्कटल्याण्ड ए सँगको दुई अभ्यास खेलमध्ये एकमा हार र अर्को वर्षाले रोकिँदा नेपालको यात्रामा चुनौती थपिएको छ।

मोन्टी देशाईको बहिर्गमनसँगै उनको स्थानमा स्टुआर्ट ल आएका छन्। हार्न मन पराउँदिन भन्ने अभिव्यक्ति दिएका स्टूआर्टका लागि यो असली परीक्षा हुनेछ।

नेपालले स्कटल्याण्डसँग ८ एकदिवसीय खेल खेलेको छ, जसमा ४ जित, ३ हार र १ रद्द भएको छ। नेदरल्याण्ड्ससँग ५ खेल्दा २ जित, ३ हारको नतिजा छ।

नेपाली टोली यसपटक सन्तुलित र शशक्त  देखिएको छ। रोहित पौडेलको कप्तानी र दीपेन्द्र सिंह ऐरीको उपकप्तानमा टिम बनेको छ।

टीममा कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी अटाएका छन्।  

लिग टुमा नेपालले अब  २४ खेल बाँकी छन्। लिग टु को शीर्ष ४ मा परेर एकदिवसीय मान्यता जोगाउन र विश्वकप ग्लोबल छनोटमा पुग्न आज जितको नतिजा निकाल्नुको नेपालका लागि विकल्प छैन। यसका लागि भने टोलीका लागि ठूलो चुनौति रहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!