बैतडी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने प्रदेशको टोलीको बिदाई गर्नुभएको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर यू–१६ राष्ट्रिय क्रिकेट खेल्ने सुदूरपश्चिमको टोलीको मुख्यमन्त्री शाहले बिदाई गर्नभएको हो ।
बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको टोलीलाई जितको शुभकामना दिनुभयो ।
शुभकामना दिने क्रममा उहाँले प्रदेश सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेको बताउँदै उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई प्रोत्साहन गर्ने गरिएको बताउनुभयो ।
मुख्यमन्त्री निवासमा आयोजना गरिएको बिदाई कार्यक्रममा खेलाडी,प्रशिक्षक, व्यवस्थापकका साथै नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य विक्रम विष्ट, प्रदेश सदस्य बावुराजा श्रेष्ठ, रमेश चन्दलगायतको उपस्थिती रहेको थियो ।
बिदाई संगै सुदूरपश्चिमको टोली राष्ट्रिय प्रतियोगिता खेल्न आजै सुर्खेत प्रस्थान गरेको छ ।
प्रतियोगिता खेल्न सुदूरपश्चिमको टोलीको कप्तानमा सचिन भट्टसहित १४ जना रहेका छन् ।
टोलीमा कप्तानमा भट्टसंगै उपकप्तान अविरल विक,सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल,रविन भण्डारी,आहन थलाल,रवि दमाई,विक्रम बोहरा,लोकेश चन्द,सुवोध तिवारी,राहुल साउँद,शुषिल रावल,रितेश विष्ट र आयुष चन्द रहेका छन् ।
यस्तै प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा ज्ञानेन्द्र क्षेत्री रहेका छन् ।
हालै सम्पन्न प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई सुदूरपश्चिमको टोलीमा समोवश गरिएको हो ।
यू–१६ राष्ट्रिय क्रिकेट कर्णाली प्रदेशको सुर्खेतमा यहि जेठ १९ गतेदेखि सुरु हुँदैछ ।
सुदूरपश्चिमको पहिलो भिडन्त जेठ १९ मा कोशी प्रदेशसंग रहेको छ ।
