काठमाडौं: सिजी ग्रुपद्वारा उत्पादित वाईवाई चाउचाउले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशिको पुरस्कार घोषणा गरेको छ। जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपालले जनाएको छ।
यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाईवाईको तर्फबाट नगद ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। यसका साथै वाईवाईले जारी विश्वकपमा नेपालको जीतको श्रृखंला अगाडि बढाउन खेलाडीको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कारको पनि घोषणा गरेको छ। प्रत्येक रन बनाएबापत १ हजार, चौकामा ८ हजार, छक्कामा १२ हजार, विकेटमा १५ हजार, अर्धशतकमा ५० हजार, शतकमा १ लाख र नेपाली टिमको जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ।
नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कार घोषणा गरिएको हो। यसका लागि सीजी फुड्स नेपाल र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
यस पुरस्कार घोषणाले नेपाली खेलाडीलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। चौधरी गु्रपअन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ। वाईवाईले त्यो बेलादेखि नेपालको क्रिकेट विकासका लागि लगानी गर्न थालेको थियो ।
नेपालले आज टी–२० विश्वकपको शृंखलाअन्र्तगत पहिलो खेल नेदरल्यान्डसँग आज खेल्दै छ।
उक्त खेल राति सवा नाै बजे शुरू हुनेछ ।
