यू-१६ सुदूरपश्चिम छनौटः कैलाली फाइनलमा,उपाधि भिडन्त डडेल्धुरासंग

बैतडी:एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

आज सम्पन्न समूह बी को लिग चरणको आफ्नो अन्तिम खेलमा कञ्चनपुरलाई ४ विकेटले हराउदैं कैलाली अपराजित रहेर फाइनलमा सुरक्षित भयो ।

कञ्चनपुरले दिएको १०५ रनको लक्ष्य कैलालीले २० ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

जसमा अविरल विकले सर्वाधिक ३८ र धिरज देउवाले अविजित १८ रनको योगदान गरे ।

कञ्चनपुरका रितेश विष्ट र जगदीश विष्टले २/२ विकेट हात पारे ।

यसअघि पहिला ब्याटिंग गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०४ रन जोड्यो ।

उसका आयुश चन्दले सर्वाधिक २५ रन हिर्काए ।

कैलालीका रोशन रावलले ३ विकेट लिए । उनी प्लेयर अफ द म्याच समेत चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।

कैलालीले अब उपाधिका लागि भोलि समूह ए को विजेता डडेल्धुरासंग खेल्नेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको थियो ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!