काठमाडौं: बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पाँचौं तथा अन्तिम अभ्यास खेलमा ग्लामोर्गन क्लबलाई २ सय ९५ रनको लक्ष्य दिएको छ । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९४ रन बनायो ।
नेपालका लागि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । भीमले ८० बलमा ९२ तथा रोहितले ८६ बलमा ६१ रनको पारी खेलेका हुन् । यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ बलमा अविजित ४९ रनको इनिङ खेले ।
जारी बेलायत भ्रमणमा नेपाल लगातार पाँचौं जितको खोजी छ । बेलायत भ्रमण सकाएर नेपाली टिम स्कटल्याण्ड प्रस्थान गर्नेछ । त्यहाँ नेपालले मे २९ र ३१ मा स्कटल्याण्ड ‘ए’ टोलीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
त्यसपछि नेपाली टिम आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा सहभागी हुनेछ, जहाँ नेपालको प्रतिस्पर्धी स्कटल्याण्ड र नेदरल्याण्ड्स हुने छन् । सिरिजको सुरुवात २ जुनदेखि हुनेछ ।
लिग–२ मा नेपाल अहिले कठिन अवस्थाबाट गुज्रिरहेको छ । १२ खेल खेलिसकेको नेपालले जम्मा ६ अंक जोडेको छ । र, नेपाल तालिकाको पुछारमा छ ।
