बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौट अन्र्तगत समूह बी का खेलहरु आजदेखि सुरु भएका छन् ।
आज सम्पन्न दुई खेलमा कैलाली र कञ्चनपुर विजयी भएका छन् ।
पहिलो खेलमा कैलालीले अछाममाथि ७१ रनको जित निकाल्यो ।
जितका लागि पाएको ११९ रनको लक्ष्य पछ्याएको अछाम १२ दशमलब ५ ओभरमा ४७ रनमा समेटियो ।
जसमा अनिल रावतले सर्वाधिक १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कैलालीका सुबोध तिवारी र रुद्रप्रसाद आचार्यले ३÷३ विकेट हात पारे । सुबोध प्लेयर अफ द म्याच समेत चुनिए ।
यसअघि पहिला ब्याटिंग गरेको कैलालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतमिा ११८ रन बनायो ।
उसका ब्रिजेश चौधरीले २६ र अविरल विकले २५ रनको योगदान गरे ।
अछामका रविन भण्डारीले ३ विकेट लिए ।
आजै सम्पन्न अर्को खेलमा कञ्चनपुरले दार्चुलालाई १११ रनले हरायो ।
कञ्चनपुरले दिएको १७० रनको विजय लक्ष्य पछ्याएको दार्चुला १५ दशमलब ४ ओभरमा ५८ रनमा अलआउट भयो ।
जसमा विकास कुँवरले १४ र निश्चल अवस्थीले सर्वाधिक १३ रन हाने ।
कञ्चनपुरका मनिष चन्दले ४ र निरज सिंह कार्कीले ३ विकेट चट्काए ।
त्यसअघि पहिला ब्याटिंग गर्दै कञ्चनपुरले आयुष चन्दको ३८ रनको मद्दतमा २० ओभरमा १६९ रन बनाउन सफल भयो ।
दार्चुलाका निश्चल अवस्थी र लवराज जोशीले २÷२ विकेट झारे ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको छ ।
छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो ।
एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।
