यू-१६ सुदूरपश्चिम छनौटः बैतडीका भास्करको शतक,डडेल्धुरा फाइनलमा

बैतडी: बैतडीमा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौटमा बैतडीका भास्कर जोशीले शतक हिर्काएका छन् ।

भास्करले डोटीविरुद्धको खेलमा ६२ बलमै शतक प्रहार गरेका हुन् । उनको शतकमा बैतडीले डोटीमाथि ९४ रनको शानदार जित निकाल्यो ।

जारी प्रतियोगिताका शतक बनाउने भास्कर पहिलो खेलाडी समेत हुन् । उनको शतकमा १२ चौका र ५ छक्का सामेल छन् ।

घरेलु मैदान दशरथचन्द क्रिकेट रंगशाला,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा २१० रन बनायो ।

जसमा भास्कर १०० रनमा अविजित रहे । यस्तै विक्रम बोहराले ४७ र कप्तान सचिन भट्टले अविजित ४६ रनको योगदान गरे ।

भास्कर र विक्रमबीच १०५ रनको ओपनिङ शतकीय साझेदारी भयो । त्यसपछि आएका कप्तान सचिनले पनि भास्करसंग १०५ रनकै साझेदारी गरे ।

भास्कर प्लेयर अफ द म्याच समेच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

डोटीका सुमन मल्लले १ विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रेको डोटीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११६ रन मात्रै बनाउन सक्यो ।

उसका महेश देउवाले अर्धशतकीय पारी खेल्दै ६० रन बनाएपनि हार टार्न सकेनन् ।

बलिङतर्फ बैतडीका अमर चन्द र जयबहादुर नाथले २/२ विकेट निकाले ।

प्रतियोगिताबाटै बैतडी र बझाङ बाहिरिसेकेका छन् ।

आजै भएको पहिलो खेलमा बझाङले डडेल्धुरालाई ३३ रनले हराएको छ । हारका बावजुत पनि डडेल्धुरा नेट रनरेटका आधारमा बझाङलाई पछि पार्दै समूह ए को विजेताको रुपमा फाइनलमा सुरक्षित भयो ।

जितका लागि पाएको १७४ रनको लक्ष्य पछ्याएको डडेल्धुरा निर्धारित २० ओभरमा १४० रनमा समेटियो ।

जसमा मान साउँदले सर्वाधिक २२ रन बनाएपनि हार टार्न सकेनन् ।

बझाङका हिमाल दौल्यालले ३ विकेट झारे ।

यसअघि बझाङले २० ओभरमा ८ विकेटको क्षतिमा १७३ रन बनायो ।

उसका इशान दौल्यालले अर्धशतकीय पारी खेल्दै ५१ रनको पारी खेले । उनी प्लेयर अफ द म्याच समेत चुनिए ।

डडेल्धुराका तपेन्द्र बोहरा र किरन देउवाले २÷२ हात पारे ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको छ ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा डडेल्धुरा,बैतडी,बझाङ र डोटी तथा समूह बी मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् ।

दुबै समूहका बिजेताबीच जेठ १४ गते उपाधि भिडन्त हुनेछ ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!