बैतडी:बैतडीमा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौटमा डडेल्धुराले लगातार दोस्रो जित दर्ता गरेको छ ।
पहिलो खेलमा डोटीलाई ९ विकेटले हराएको डडेल्धुराले आज घरेलु टोली बैतडीमाथि ३ विकेटको जित निकाल्यो ।
बैतडीले दिएको १०९ रनको लक्ष्य डडेल्धुराले २१ दशमलब २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
जसमा शुभेष सिंह रावलले अविजित २० र विशाल कार्कीले १९ रनको योगदान गरे ।
बैतडीका अमर चन्द र सन्तोष चन्दले २÷२ विकेट हात पारे ।
यसअघि दशरथचन्द क्रिकेट रंगशाला,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको बैतडी २३ दशमलब २ ओभरमा १०८ रनमा समेटियो ।
बैतडीका लागि विक्रम बोहराले सर्वाधिक १७ र जय बहादुर नाथले १६ रन हिर्काए ।
डडेल्धुराका लागि म्यान अफ द म्याच समेत चुनिएका मान साउँदले ३ विकेट लिएका स्कोरर दीपेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो ।
लगातार दोस्रो जित दर्ता गरेको डडेल्धुरा फाइनल नजिक पुगेको छ ।
बैतडी भने दोस्रो खेलमा पनि पराजय भोग्दै लिग चरणबाटै बाहिरियो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको छ ।
सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा डडेल्धुरा,बैतडी,बझाङ र डोटी तथा समूह बी मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् ।
दुबै समूहका बिजेताबीच जेठ १४ गते उपाधि भिडन्त हुनेछ ।
छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो ।
एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।
