बैतडी: कैलालीमा सम्पन्न जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिपको उपाधि मणिलेक इन्टरनेशनल स्कुलले जितेको छ ।
आज सम्पन्न फाइनल भिडन्तमा वेस्टर्न क्रिस्टल एकेडेमीमाथि ६२ रनको जित निकाल्दै मणिलेक च्याम्पियन भयो ।
जितका लागि पाएको १४९ रनको लक्ष्य पछ्याएको वेस्टर्न १५ ओभरमा ८६ रनमा समेटियो ।
जसमा क्षितिज साउँदले १७,रोहित विष्टले १६,युनिश मल्लले १२, रोहित बानिया र रोशन रावलले समान १० १० रन जोडे ।
मणिलेकका लागि प्लेयर अफ द म्याच समेत भएका पुर्षोत्तम रावलले ४ र मनोज विष्टले २ विकेट हात पारे ।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिंग गरेको मणिलेकले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४८ रन बनायो ।
उसका राजेश ठगुन्नाले २९ र मनोज विष्टले २४ रन हिर्काए ।
वेस्टर्नका युनिश मल्लले ३ विकेट झारे ।
यसैबीच वेस्टर्नका रोशन रावल सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्याटर चुनिएका प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयो ।
कोभिद इन्टरनेशनल स्कुलका सिजन कुँवर बेस्ट बलर र मणिलेकका पुर्षोत्तम रावल उदयीमान खेलाडी घोषित भए ।
विजेता,उपविजेता तथा पुरस्कृत खेलाडीलाई फाप्ला खेल ग्रामका अध्यक्ष शुभाष शाही,कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्ट,सचिव देवनारायण झा,कोषाध्यक्ष विनोद लामा, सदस्य लोक बहादुर खड्का,अनुपमा अलराउन्डरका ग्यानु अधिकारीलगायतले पुरस्कार वितरण गर्नुभयो।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख २६ गतेदेखि सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको थियो ।
यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।

