कैलाली यू-१६ च्याम्पियनसिपः वेस्टर्न क्रिस्टल र धनगढी नमूना फाइनलमा

बैतडी:कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिपको फाइनल पुग्ने दुबै टोलीको टुंगो लागेको छ ।

आज सम्पन्न सेमिफाइनलबाट वेस्टर्न क्रिस्टल एकेडेमी र धनगढी नमूना स्कुल फाइनलमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा जेसिस एभरेष्ट इङलिस स्कुललाई १० रनले हराउदै वेस्टर्नले फाइनलको यात्रा तय गर्यो ।

जितका लागि पाएको १२४ रनको लक्ष्य पछ्याएको जेसिसले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११३ मात्रै बनाउन सक्यो ।

जसमा सुभम सिंहले ३७ र अभिषेक रोकायाले २६ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

वेस्टर्नका पारस बागले २ विकेट लिए ।

यसअघि फाप्ला मैदानमा पहिला ब्याटिंग गरेको वेस्टर्नले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२३ रन जोड्यो ।

उसका रोहित विष्टले ३० र रोशन रावलले २७ रन हिर्काए ।

जेसिसका आषिश सुनारले ३ विकेट झारे ।

आजै सम्पन्न अर्को सेमिफाइनलमा मणिलेक इन्टरनेशनल स्कुलमाथि ७० रनको शानदार जित निकाल्दै धनगढी नमूना उपाधि नजिक पुगेको छ ।

धनगढीले दिएको ११२ रनको लक्ष्य पछ्याएको मणिलेक १२ दशमलब १ ओभरमा ४१ रनमा अलआउट भयो ।

जसमा हेमन्त रेग्मीले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा मणिलेक सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।

धनगढीका उपेन्द्र ऐरले ४ विकेट चट्काए ।

यसअघि पहिला ब्याटिंग गरेको धनगढी १९ दशमलब ५ ओभरमा १११ रनमा समेटियो ।

उसका पुकार रोकायाले सर्वाधिक १६ रन जोडे ।

बलिंगमा मणिलेकका राजेश ठगुन्नाले ४ विकेट लिए ।

फाइनल भिडन्त भोलि हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयो ।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख २६ गतेदेखि सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको थियो ।

यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!