तौलिहवा: लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ पदमुक्त भएका छन् ।
सदरमुकाम तौलिहवामा शनिबार सम्पन्न विशेष साधारण सभाले अविश्वास प्रस्ताव पारित गरेपछि गुरुङ पदमुक्त भएका हुन् । ४१ मध्ये विशेष साधारणसभामा उपस्थित ३८ जनाले अध्यक्ष गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मत हाले ।
गुरुङ भने साधारण सभामा सहभागी थिएनन् । प्रदेश संघको कोषाध्यक्ष पद रिक्त छ भने कार्य समिति सदस्य सुबास तिमिल्सिना विदेशमा भएकाले तीन जना मतदानमा सहभागी भएनन् । अन्य ३८ जनाले गुरुङविरुद्ध मतदान गरेका थिए ।
२०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनयराज भण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान) मा पठाएका थिए ।
विशेष साधारणसभामा उपस्थित सबै ३८ जना प्रतिनिधिले गुरुङविरुद्ध मत दिए ।
अविश्वास प्रस्ताव पारित भएपछि उपाध्यक्ष विनयराज भण्डारी कार्यवाहक अध्यक्ष भएको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले जानकारी दिए ।
संघको विनियमावली, क्यानको पत्र र राष्ट्रिय खेलकुद परिषद्को पत्रअनुसार विशेष साधारणसभा भएको र जेठ ३१ गते पाल्पामा अर्को विशेष साधारणसभा बोलाएर नया नेतृत्वमा चयन गरिने कार्यवाहक अध्यक्ष भण्डारीले बताए ।
विशेष साधारणसभामा रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, पाल्पा र पश्चिम नवलपरासी ७ जिल्लका प्रतिनिधि सहभागी थिए ।
गुरुङले आर्थिक अनियमितता गरेकाे आराेप छ।
