काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा राेमाञ्चक जित निकालेको छ ।
नेपालले न्यू पोर्ट क्रिकेट क्लबलाई ३ विकेटले हरायाे ।
नेपालले २ सय १३ रनको लक्ष्य ७ विकेटको क्षतिमा ३८ औं ओभरमा प्राप्त गर्यो । मध्यक्रममा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गर्दै नेपाललाई जित दिलाए ।
गुलशनले ८० रनको योगदान दिँदा आरिफ ७२ रनमा नटआउट रहे । सोमपालले नटआउट ९ रन जोडे । नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा कप्तानी सम्हालेका दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए ।
उनी आउट हुँदा नेपाल ५६-६ को दयनीय अवस्थामा थियो । तर गुलशन र आरिफले साताै विकेटका लागि १ सय ३३ रनको बलियो साझेदारी गर्दै जितको आधार बनाए ।
त्यसअघि कार्डिफमा अवस्थित न्यू पोर्टले २ सय १२ रन जोडेको थियो । टोलीका लागि ओपनर विल त्रिप्कोलीले १ सय १८ रनको योगदान दिए ।
नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ सफलता हात पारे । रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए ।
नेपालले स्कटल्याण्ड ए सँग २ अभ्यास खेल खेल्नुअघि विश्वविद्यालय टोलीसँग पनि अभ्यास खेल खेल्नेछ । कप्तान रोहित शनिबार बेलायत प्रस्थान गर्दैछन् ।
नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ भने लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।
लिग–२ का लागि नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, र करण केसी रहेका छन् ।
