बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका २ कफलकोटमा रहेको रौलेश्वर माविको ६३ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराज भट्टको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहका प्रमुख अतिथी दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की रहनुभएको थियो ।
यस्तै कार्यक्रममा वडानम्बर २ का वडाध्यक्ष विष्णुदत्त भट्ट,अन्य जनप्रतिनिधि,विभिन्न विद्यालयका शिक्षक, अभिभावक,बुद्धिजिवी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम,हाजिरीजवाफलगायतका विभिन्न प्रतियोगिता समेत सम्पन्न भएका विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर भाटले जानकारी दिनुभयो ।
वार्षिकोत्सवकै अवसरमा विद्यालयलाई सहयोग गर्ने र योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
संस्थापक शिक्षक धनबहादुर महरा, स्थापनाकालदेखि सहयोग गर्दै आउनुभएका कृष्णा विष्ट र विद्यालयका भूतपूर्व विद्यार्थी तथा हाल नेपाली सेनाका पाईलट उपसेनानी राजेन्द्रसिंह महरालाई सम्मान गरिएको प्रधानाध्यापक भाटले बताउनुभयो ।
यसैबीच वार्षिकोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष समेत स्थापना गरिएको छ ।
पूर्वविद्यार्थी तथा नेपाली सेनाका पाईलट उपसेनानी राजेन्द्रसिंह महराले आफ्ना बाजे कल्यान सिंह महराको सम्झनामा एक लाख एक हजार एकसय एघार रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको छ ।
उक्त अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार विद्यार्थीलाई सहयोग गरिने जनाएको छ ।


