बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को बैतडी छनौटको फाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।
आज सम्पन्न सेमिफाइनलका खेलहरुबाट निङ्गलाशैनी क्रिकेट क्लब (एनसीसी) र पाटन भ्याली क्रिकेट क्लब फाइनलमा पुगेका छन् ।
एनसीसीले बैतडी युनाइटेड क्रिकेट एकेडेमीलाई ३ रनले पाखा लगाउदै फाइनलको यात्रा तय गरेको हो ।
दशरथचन्द क्रिकेट रंगशाला, सुन्दरखालीमा पहिला ब्याटिंग गरेको एनसीसीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०५ रन बनायो । जसमा रोशन बोहराले २०,विक्रम बोहरा,सिरिश बोहराले १९÷१९ रनको योगदान गरे ।
युनाइटेडका पञ्कज चन्दले ३ र दीपक चन्द र मनोज चन्दले २÷२ विकेट हात पारे ।
जवाफी ब्याटिग गर्न उत्रेको युनाइटेड १८ दशमलब ५ ओभरमा १०२ रनमा समेटियो । जसमा मनोज चन्दले २८, दीपक चन्दले २०,नरेन्द्र चन्दले १९ रनको योगदान गरेपनि हार टर्ना सकेनन् ।
एनसीसीका कृष्ण बोहराले ३,विक्रम बोहरा र नविन भाटले २÷२ विकेट झारे ।
कृष्ण प्लेयर अफ द म्याच समेच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताउनुभयो ।
यस्तै आजै भएको अर्को सेमिफाइनल खेलमा दशरथचन्द क्रिकेट एकेडेमीलाई ६३ रनको बिशाल रनले पराजित गर्दै भ्याली फाइनलमा प्रवेश गरेको छ ।
भ्यालीले दिएको १५८ रनको विजय लक्ष्य पछ्याएको एकेडेमी ९४ रनमा अलआउट भयो । एकेडेमीका भास्कर जोशीले सर्वाधिक २० रन जोडेपनि जित दिलाउन सकेनन् ।
बलिंगतर्फ भ्यालीका समीर भण्डारीले ३,तेज किरण विष्टले २ विकेट लिए ।
यसअघि पहिला ब्याटिंग गरेको भ्यालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५७ रन बनायो ।
म्यान अफ द म्याच समेत चुनिएका अमनसिंह विष्टले अर्धसतकीय पारी खेल्दै ५९ रनको योगदान गरे ।
एकेडेमीका अमर चन्द ४ विकेट हात पारे ।
प्रतियोगिताको उपाधि भिडन्त भोलि हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख २६ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता रहेको थियो ।
छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिना राष्ट्रिय प्रतियोगिता गर्दैछ ।
