सन्दीपले क्यानबाट तलब नलिने,सम्झौताबाट आउट!

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्।

उनले मंगलबार सामाजिक सञ्जालमा उक्त जानकारी दिएका हुन्। ‘धेरै सोचविचार पछि मैले यस पटकको लागि क्यान केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन, यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ उनले लेखेका छन् ।

क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख रुपैयाँ पाउँदै आएका थिए।

यस निर्णयपछि आफू खेलिरहने उनले बताएका छन्। ‘म अझै पनि नेपालका लागि खेलिरहनेछु। सधैंझैं उही जोश, उही समर्पणका साथ। नेपालको जर्सी लगाउनु मेरो लागि सधैं गर्वको कुरा हो र यो जिम्मेवारी सधैं मेरो हृदयमा रहनेछ,’ उनले लेखेका छन्।
सन्दीप नेपाली टाेलीका मुख्य बलर हुन्। उनकाे नाममा विभिन्न कीर्तिमान समेत बनेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!