यू-१६ बैतडी छनौट: एनसीसी र पाटन भ्याली अन्तिम चारमा सुरक्षित

बैतडी: बैतडीमा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को जिल्लास्तरीय छनौट प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने दुई टाेलीकाे टुंगो लागेकाे छ ।

समूह बी बाट निङ्गलाशैनी क्रिकेट क्लब(एनसीसी) र पाटन भ्याली क्रिकेट क्लब सेमिफाइनल पुगेका हुन्।

उक्त समूहमा रहेकाे अर्काे टाेली पाटन क्रिकेट क्लबले समूह चरणका सबै खेलमा पराजित भएपछि एनसीसी र भ्यालीकाे अन्तिम चारकाे यात्रा सुरक्षित भएको हाे।

अब समूह विजेता र उपविजेताका लागि एनसीसी र भ्यालीबीच भाेलि भिडन्त हुनेछ ।

आज सम्पन्न खेलमा भ्यालीले पाटनलाई १७ रनले स्तब्ध पार्याे।
हारसंगै पाटनकाे टाेली बाहिरिएको छ।

१२८ रनकाे लक्ष्य पछ्याएकाे पाटनले २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्रै बनाउन सक्यो ।

जसमा जयबहादुर नाथले सर्वाधिक ३० रन बनाएपनि हार टार्न सकेनन् ।

भ्यालीका टेकराज जाेशीले ३ विकेट झारे।

यसअघि दशरथचन्द क्रिकेट रंगशाला, सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे भ्याली १९ ओभरमा १२७ रनमा अलआउट भयाे।

म्यान अफ द म्याच समेत चुनिएका उसका निरज भट्टले अविजित ४० रनको याेगदान गरे।

पाटनका श्याम विष्ट र रितिक राेशन विष्टले २/२ विकेट झारे।

आजै भएकाे समूह ए काे खेलमा बैतडी क्रिकेट एकेडेमीलाई दशरथचन्द एकेडेमीले २ विकेटले हरायाे।

समूह ए बाट सेमिफाइनल पुग्ने टाेलीकाे टुंगो भाेलि लाग्ने स्कोरर दीपेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो ।

वैशाख २६ गतेदेखि सुरू भएकाे प्रतियोगिता जेठ १ गतेदेखि सम्पन्न हुनेछ।

प्रतियोगितामा जिल्लाका ७ टोलीको सहभागिता रहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!