नेपाली सेनाद्वारा बैतडीमा संयुक्त मनसुन अभ्यास सञ्चालन

बैतडी: नेपाली सेनाले बैतडीमा संयुक्त मनसुन प्रतिकार्य अभ्यास सञ्चालन गरेको छ ।

प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका घटनालाई मध्यनजर गर्दै पुर्वतयारीस्वरुप बैतडीमा रहेको श्रीबक्स गुल्मको आयोजनामा सञ्चालन गरिएको प्रतिकार्य अभ्यासमा तीनवटै सुरक्षा निकायको सहभागिता रहेको थियो ।

दशरथचन्द नगरपालिका– ५ सुन्दरखालीमा सञ्चालन गरिएको उक्त अभ्यास ‘अभ्यास मनसनु–५’ रहेको श्रीबक्स गुल्मका गुल्मपति,सेनानी सफल थापाले जानकारी दिनुभयो ।

श्रीबक्स गुल्मले जिम्मेवारी क्षेत्रमा रहेका विपद्सँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति, नागरिक समाज, जिल्ला रेडक्रस, जिल्लामा कार्यरत अन्य सुरक्षा निकायहरु, स्थानीय निकाय र अन्य सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय गरेर अभ्यास गरेको हो ।

उहाँले भन्नुभयो,“ नेपाली सेनाले अन्य सुरक्षा निकायहरुसंगको समन्वयमा विपद् प्रतिकार्य अभ्यासलाई थप व्यवहारिक बनाउने योजना बमोजिम तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न ‘अभ्यास मनसनु–५’ सञ्चालन गरेका हौं । यो अभ्यासले विपद्को समयमा खोजउद्धारमा सहयोग पुग्नेछ । ”

अभ्यासका क्रममा भिरमा अड्केको घाईतेहरुको रक क्लाईम्बिङ्ग रेस्क्युद्धारा उद्धार, गहिरा खाडल÷गल्छी तथा खोचमा अड्केको घाईतेको हाई ल्याण्ड रेस्क्यूद्वारा उद्धार र पहिरोबाट विस्थापितहरुको लागि आपतकालिन आवास निर्माण सम्बन्धी तथा डेमोन्स्ट्रेसन सञ्चालन गरिएको श्रीबक्स गुल्मले जनाएको छ ।

उक्त अभ्यास तथा डेमोन्स्ट्रेसनमा श्रीबक्स गुल्म,सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, रेडक्रस, जिल्ला अस्पताल र अन्य सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
उक्त अभ्यासले मनसुन पूर्वको तयारी र जिल्ला विपद प्रतिकार्य सम्बन्धि बनेका योजनाहरुको कार्यान्वयन गराउन र विपदको बेला उद्धार तथा प्रतिकार्यका लागि सहयोग मिल्ने बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

विपद जुनसुकै अवस्थामा पनि आउनसक्ने भएकोले पूर्वतयारी र स्थानीयबासिन्दालाई पनि संगै राखेर अभ्यास गरिएको छ ।

उहाँले भन्नुभयो,“ विपद्को बेला परिचालित हुने जनशक्ती, उद्धार कार्यको लागि चाहिने श्रोतसाधनहरुको प्रभावकारीता परीक्षण गरी तयारी अवस्थामा राख्न अभ्यास गरिएको छ । यसले पक्कै पनि विपद् न्यूनीकरण गर्न सहज हुनेछ ।”

यसका साथै विपदको सम्भावित क्षतिलाई न्यून गर्न फौज सामग्री तथा महत्वपूर्ण यन्त्रहरुको सुरक्षासम्वन्धि कार्ययोजनालाई सापेक्षित ढंगबाट पुनरावलोकन गर्न, विपद व्यवस्थापनसंग आवद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसंग संयुक्त अभ्यासमार्फत समन्वय गरि सहयोग र सम्बन्ध बिस्तार गर्ने उद्देश्यले अभ्यास गरिएको प्रजिअ उपाध्यायले बताउनुभयो ।

अभ्यासकै कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन र सरोकारवालाबीच अनुभव साटासाट पनि गरिएको थियो ।


junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!